तल्लो मनाङ मर्स्याङ्दी आयोजनासँग डलरमा विद्युत खरिद गर्न विद्युत प्राधिकरणले गर्यो अस्वीकार, के होला चिनियाँ लगानी ?

प्राधिकरणले नेपाली रुपैयाँमा पीपीए गर्ने तर, डलरमा चाहिने भए हेजिङ फन्डमार्फत जान सुझाएको छ । सरकारले डलर पीपीएलाई खुलाई ऋण तिर्न अवधि वा अधिकतम १० वर्षसम्मका लागि डलरमा पीपीए गर्ने नीतिगत व्यवस्था गरेको छ ।

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा निर्माण हुन लागेको १४० मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली अमेरिकी डलरमा खरिदबिक्री सम्झौता (पीपीए) गर्न नेपाल विद्युत प्राधिकरणले अस्वीकार गरेको छ ।

प्राधिकरणले नेपाली रुपैयाँमा मात्र पीपीए गर्नसक्ने तर डलरमा नगर्ने भनेको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । चनियाँ कम्पनीले डलरमा लगानी ल्याउने भएकाले उसले डलरमा पीपीए गर्न खोजेको उनले स्पष्ट पारे । पीपीए नभएसम्म आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न गाह्रो पर्ने उनको भनाई छ ।

सरकारले विदेशी लगानी भित्र्याउन गत चैतको दोस्रो साता लगानी सम्मेलन गरेको छ । यता विदेशी लगानीमा बन्ने जलविद्युत आयोजनासँग विद्युत प्राधिकरणले डलरमा पीपीए गर्न मानेको छैन ।

प्राधिकरणले नेपाली रुपैयाँमा पीपीए गर्ने तर, डलरमा चाहिने भए हेजिङ फन्डमार्फत जान सुझाएको उनको भनाई छ । सरकारले डलर पीपीएलाई खुलाई ऋण तिर्न अवधि वा अधिकतम १० वर्षसम्मका लागि डलरमा पीपीए गर्ने नीतिगत व्यवस्था गरेको छ ।

एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडमार्फत आयोजनाको निर्माण हुन लागेको हो । कम्पनीले ३ ओटा मध्ये पहिलो चरणमा तल्लो मनाङ मर्स्याङ्दी आयोजनालाई अघि बढाउन लागेको छ । एससीआईजीले ६०० मेगावाटमो माथिल्लो मस्र्याङदी २ र मनाङ मर्स्याङ्दी आयोजना अघि बढाउँदै छ ।

कम्पनीले आउँदो ५ वर्षभित्र १ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि २ खर्ब रुपैयाँ बढी लगानी गर्ने तयारी थालेको छ । ३ ओटा आयोजनाको काम अघि बढाउन चीनियाँ कम्पनीले ५ अर्ब रुपैयाँ जति लगानी गरिसकेका छन् ।

एसीआईजीमा बीपीसीका अतिरिक्त सिचुवान प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, छेन्दुछेनचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र क्विङयुन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको साझेदारीमा जलविद्युत् आयोजना निर्माण थालेको हो । यसमा बीपीसीको १९ प्रतिशत स्वामित्व छ ।

नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक ७० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।

आयोजना बाँध मनाङ्को नसाङ गाउँपालिकाको वगरछाप र विद्युतगृह सोही गाउँपालिकाको खोत्रेमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली मर्स्याङ्दीको २२० केभी प्रसारणलाइन अन्र्तगत मनाङको धारापानी मनाङ हवमा जोडिने प्रस्ताव गरिएको छ ।