लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको एक अध्ययनले देखाएको छ । सन् २०११/१२ मा लगभग प्रतिवर्ष १३ महिलाले लैङ्गिक हिंसाबाट पीडा व्यहोर्ने गरेकामा सन् २०१८ मा ८० महिला पीडित भएका थिए । लैङ्गिक हिंसा र मानसिक समस्यामा परेका महिलाको उद्धार तथा पुनःस्थापनामा कार्यरत संस्था ‘कोशिश नेपाल’द्वारा आज यहाँ आयोजित कार्यक्रममा सो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै १५ देखि ४९ उमेर समूहका महिला विविध कारणले बढी हिंसामा पर्ने गरेको जानकारी दिइयो ।
संस्थाले सन् २०११ देखि सन् २०१९ सम्म हिंसामा परेका ४५६ महिलाबारे गरेको अध्ययनका क्रममा करीब ४५ प्रतिशत महिला कडा खालको मानसिक समस्यामा परेका थिए । यौनजन्य हिंसा, जबर्जस्ती बलात्कार, कम उमेरमा विवाह, घरेलु हिंसा, जबर्जस्ती विवाहलगायत कारणले महिलामा मानसिक समस्या देखिएको र मानसिक समस्याका कारण थप हिंसामा परेको कार्यक्रममा प्रस्तुतीकरण गरिएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले कुनै पनि महिला तथा बालबालिका हिंसामा पर्ने छैनन् भन्ने प्रतिबद्धताका साथ सरकारले आफ्ना नीति, कार्यक्रम तथा ऐन नियमलाई केन्द्रित गरेको बताइन् । उनले महिलालाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताइन् । “ग्रामीण क्षेत्रका विपन्न महिलाको आर्थिक अवस्था उकास्न सबैको ध्यान जानुपर्छ”, मन्त्री थापाले भनिन् ।
अधिकारकर्मी दुर्गा घिमिरेले संविधानप्रदत्त महिला अधिकार कार्यान्वयन गर्न सकिएमा मात्र महिलाको समग्र अवस्थामा सुधार हुने बताइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रा शर्माले हिंसामा परेका महिलालाई तत्काल पुनःस्थापना तथा राहत प्रदान गर्न स्थानीय तहलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको बताइन् । उनले सातै प्रदेशमा हिंसामा परेका महिलालाई पुनःस्थापना गर्न केन्द्र स्थापना गर्ने मन्त्रालयको नीति रहेको जानकारी दिइन् ।
आयोजक संस्थाका अध्यक्ष शिवराम आछामी र कार्यकारी निर्देशक मातृका देवकोटाले लैङ्गिक हिंसाका कारण मानसिक समस्या र मानसिक समस्याका कारण लैङ्गिक हिंसामा परेका महिलालाई संस्थाले पुनःस्थापना, तालीम तथा परिवारसित पुनःमिलन गरिरहेको बताए । संस्थाका कार्यक्रम अधिकृत युवराज चन्दले मानसिक समस्याका कारण हिंसामा पर्ने महिलाका समस्या सम्बोधन गर्न समयमै ध्यान दिन आग्रह गरे ।