सालमुनी हाइड्रोपावरबाट बिजुली उत्पादन सुरु, ३.३३ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिँदै

करीब एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो । परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताए ।

डोटी । जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनी हाइड्रोपावर परियोजनाले मंगलबारदेखि विद्युत् उत्पादन सुरु गरेको छ । करीब एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो ।

परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताए । उनले भने, ‘विद्युत्को सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष्यबमोजिम तोकिएकै समयमा विद्युत् उत्पादन गरेर देखायौँ ।’

सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनिको नामबाट निर्माण गरिएको उक्त परियोजनाको ठेक्का सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ट्रक्सनले लिएका हुन् । सो विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

ती दुवै कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ३० वर्षसम्म यहाँको विद्युत् बिक्रीबाट आएको रकम निर्माण कम्पनीले नै लिने भएको छ । विपीनगरमा विद्युत् निर्माण भएर विद्युत् उत्पादन भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

उक्त पावर हाउसबाट उत्पादन हुने विद्युत् वितरणपछि डोटी जिल्ला विद्युत् भार कटौतीमुक्त हुनेमा स्थानीय बासिन्दा आशावादी छन् ।

यो वर्ष २३२ मेगावट विद्युत् केन्द्रीय प्रणालीमा थप हुने लक्ष्य राखिएको छ । सो लक्ष्य पूरा गर्न यस परियोजनाले पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।