प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ ।

नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ । यहाँ एङ्करवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।

यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।

यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् । यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस प्रमाणपत्र दिएको छ । रासस