काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ होटल याक एन्ड यतीमा सुरु भएको छ । भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा महासङ्घले सम्मेलन आयोजना गरेको हो ।
सम्मेलन होटल याक एन्ड यतीमा बिहान १० देखि सुरु भएको हो । सम्मेलनमा भारत र नेपाललगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका ६० ओटा स्टल राखिएका छन् । एक्स्पोमा नेपालका तर्फबाट अग्नि ग्रुप, टिबडेवाला ग्रुप, मेरो घर, सिटी ड्रिम्स, साङ्ग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना च्याङग्रा हाउस प्रालि, सभा नेपाल र जयकाली जडिबुटीलगायत कम्पनी सहभागी छन् । यस्तै भारतीय ब्रान्डहरुमा नाइन किड्स, अमेरिकन स्कुल, वेस्ट सेलर, बाइक स्टुडियो, बम्बे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, युक्लिनलगायत छन् ।
सम्मेलनको पहिलो दिन बुधबार एक्स्पोसहित विभिन्न विषयमा वार्ता तथा प्यानल छलफल चलाइनेछ । कार्यक्रमको पहिलो सेसनमा नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नयाँ मार्गचित्रमा आधारित रहेर छलफल भयो । जसमा नेपालमा भाइब्रेन्ट व्यवसाय विकासका लागि नेपाल सरकारले कसरी काम गरिरहेको छ, नेपालमा आधुनिक तथा स्वास्थ्य खुद्रा वातावरण निर्माणका नयाँ अवसर, ग्लोबल ब्रान्डलाई नेपालमा फल्नलाई सहयोग गरेर खुद्रा वृद्धिको सम्भाव्यतालाई खुला गर्ने, स्टार्टअप क्षेत्रमा उत्पन्न भएका नयाँ ट्रेन्ड र भारतीय कर्पोरेटहरुसँग कम पुँजी तथा उच्च उत्पादन दिने उपभोग्य वस्तु तथा सेवामा फ्रेन्चाइज साझेदारी अवसरबारे विभिन्न वक्ताले विचार प्रस्तुत गरेका थिए । जसमा फ्रेन्चाइज इन्डियाकी प्रधान सम्पादक ऋतु मार्या, वाणिज्य दूतावास भारतको दोस्रो सचिव कपिध्वज प्रताप सिंह र नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विचार व्यक्त गरेका थिए ।
विशेषगरी नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलता प्रवद्र्धनमार्फत विभिन्न ब्रान्डमा लगानीका अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । दुई दिनसम्म आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले जेठ २ गते गर्नेछन् ।