बक्यौता रकम सेवा प्रदायकले तिरेका छैनन्ः दूरसञ्चार प्राधिकरण

प्राधिकरणले स्मार्ट टेलिकम, युनाइनेड टेलिकम लिमिटेड (यूटीएल) र स्याटेलाइट टेलिकमबाट दुई अर्ब ९३ करोड ६७ लाख ८१ हजार आठ सय ७२ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ ।

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट बक्यौता भुक्तानीमा हालसम्म केही प्रगति नभएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । बक्यौता रकम तिर्न प्राधिकरणले गरेको ६१औं ताकेताको म्याद आगामी असार मसान्तमा पूरा हुँदैछ, तर रकम तिर्न हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले छाँटकाँट नदेखाएको प्राधिकरणका प्रवक्ता मीन अर्यालले बताएका हुन् ।

प्राधिकरणले स्मार्ट टेलिकम, युनाइनेड टेलिकम लिमिटेड (यूटीएल) र स्याटेलाइट टेलिकमबाट दुई अर्ब ९३ करोड ६७ लाख ८१ हजार आठ सय ७२ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ । बक्यौता रकम तिर्न पटक पटक तोकता गर्दा पनि सेवा प्रदायक कम्पनीहरु अटेर गरी बसेकाले कम्पनीलाई कालोसूचीमा राख्ने, फ्रिक्वेन्सी फिर्ता गराउनेसम्मको चेतावनी प्राधिकरणले दिदैँ आएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी स्मार्ट टेलिकमबाट एक अर्ब ४० करोड रुपैयाँ असुल्न बाँकी छ । यसैगरी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)बाट फ्रिक्वेन्सी दस्तुर तथा रोयल्टी नवीकरण दस्तुरको किस्ता र जरिवाना गरी ७९ करोड ४२ लाख ९५ हजार तीन सय १२ रुपैयाँ र नेपाल स्याटेलाइटबाट ७३ करोड ५७ लाख २५ हजार दुई सय ३४ रुपैयाँ असुल्न बाँकी छ ।

बक्यौता नतिर्ने स्मार्ट टेलिकममा सर्वेश जोशीको २० प्रतिशत, कोरस्बो इन्भेस्टमेन्ट प्रालिको ३० र लालसाउ होल्डिङ्सको ५० प्रतिशत लगानी छ । यसैगरी युनाइटेड टेलिकममा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतोको लगानी छ र नेपाल स्याटेलाइट टेलिकममा अजेयराज सुमार्गीको लगानी छ ।