साढे दुई दशकपछि कार्यान्वयनमा आयो एकल बिन्दु सेवा

उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले जेठ एक गतेबाट जुनसुकै हालतमा भए पनि एकद्वार नीति कार्यान्वयनमा ल्याउने बताएका थिए । सोही अनुसार आज (बुधबार)बाट एकद्वार नीति कार्यान्वयनमा आएको हो ।

काठमाडौं । उद्योगी/व्यवसायीको निरन्तरको दबाब र सरकारको पहलबाट साढे दुई दशकपछि नेपालमा एकद्वार नीति कार्यान्वयनमा आएको छ । उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले जेठ एक गतेबाट जुनसुकै हालतमा भए पनि एकद्वार नीति कार्यान्वयनमा ल्याउने बताएका थिए । सोही अनुसार आज (बुधबार)बाट एकद्वार नीति कार्यान्वयनमा आएको हो ।

२०४८ सालमा आएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) मै एकद्वार नीति लागू गर्ने उल्लेख गरिए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन । तर, संशोधनसहित फिटा जारी भएपछि एकद्वार नीतिलाई प्राथमिकतासाथ अघि सारिएको थियो ।

सरकारले यो वा त्यो बहानामा एकद्वार नीति कार्यान्वयन गर्न नसक्दा उद्योगी/व्यवसायी हैरान भएका थिए । उद्योगीले नयाँ उद्योग लगाउँदा अत्यन्तै झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्ने बाध्यता जेठ एक गतेबाट हटेको उद्योगमन्त्री यादवले जानकारी दिए ।

‘२६ वर्षअघि नै एकद्वार नीति कार्यान्वयनमा आउनुपर्ने हो, तर आउन सकेन,’ उनले भने, ‘सरकारले समयमै कार्यान्वयन गर्न नसक्दा उद्योगी÷व्यवसायीले धेरै दुखसमेत पाए ।’

सरकारले एकद्वार नीति लागू गर्न नसक्दा देशमा भष्ट्रचारसमेत मौलाएको मन्त्री यादवको भनाइ छ ।