स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको दाबी गर्दै पाक्षिक रुपमा भाउ बढाउँदै आएको निगमले फेब्रुरी १५मा आएको नयाँ मूल्यअनुसार भने भाउ घटबढ नगर्ने भएको छ ।
विगत दुई महिनादेखि १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नयाँ मूल्य आए पनि मूल्य समायोजन गरेको छैन । स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको दाबी गर्दै पाक्षिक रुपमा भाउ बढाउँदै आएको निगमले फेब्रुरी १५मा आएको नयाँ मूल्यअनुसार भने भाउ घटबढ नगर्ने भएको छ ।
पछिल्लो मूल्य सूचीअनुसार मूल्य घटेर आए पनि निगमलाई नाफा हुने गरी मूल्य नघटेकाले अहिले समायोजन नगरेको हो । फेब्रुरी एक तारिकमा निर्धारण गरेको मूल्यअनुसार पाक्षिक १४ करोड ९२ लाख रुपैयाँ घाटा बेहोर्दै आएको निगमलाई नयाँ मूल्यअनुसार घाटाको रकम घटेको छ । आईओसीबाट आएको पछिल्लो मूल्यअनुसार निगमको पाक्षिक घाटा ७ करोडमा झरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘मूल्य घटेर आए पनि निगम घाटामै छ,’ गोइतले भने, ‘समायोजन गर्दा मूल्य पैसामा पनि जाने भएकाले यथावत राखेका छौं ।’ मार्च एक तारिकमा आउने मूल्यका आधारमा थपघट गर्ने गोइतले बताए ।
निगमले गत माघ १८ गते पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो । पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ, डिजेल र मट्टीतेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ एक किलोलिटरको १ हजार डलर तोकेको छ ।