समितिका अनुसार २ सयभन्दा बढी युवाहरूलाई बुकीको सुरक्षा गर्न त्यसतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यार्सा टिप्नका लागि भने खुल्ला गरिसकेको छैन ।
रुकुम । रुकुम पूर्वको पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्ने याम सुरु भएसँगे यार्साको चोरी निगरानीका लागि स्थानीय युवा परिचालन गरिएको छ ।
सिजन व्यवस्थापन समितिले उम्रिसकेको यार्सालाई चोरबाट जोगाउन र बुकीको अवस्थाबारे बुझ्न युवाहरूलाई त्यसतर्फ पठाएको हो ।समितिका अनुसार २ सयभन्दा बढी युवाहरूलाई बुकीको सुरक्षा गर्न त्यसतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यार्सा टिप्नका लागि भने खुल्ला गरिसकेको छैन ।
केही समयपछि मात्रै समितिको बैठक बसेर मिति तोक्ने समितिले बताएको छ । स्थानीय भरतकुमार पुनका अनुसार सुरक्षाका लागि बुकी पुगेका युवाहरूले ल्याउने खबरको आधारमा यार्सा खुला गर्ने दिनको निर्णय हुने गरेको छ । सिजन व्यवस्थापन समितिले यार्सा खोज्ने र किन्नेका लागि प्रवेश शुल्क पनि तोक्न बाँकी नै छ ।
त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्साको एउटा सिजनबाट उनीहरूले एक वर्षको खर्च व्यवस्थापन गर्ने गर्दछन् । महिना दिन बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा खोजेर मात्रै ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् ।
पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न जान्छन् । पुथाउत्तरगंगा र सिस्नेको भूभागसहित उनीहरू डोल्पासम्म पुग्ने गर्छन् ।