पुँजी नपुर्याउने बीमा कम्पनी अब मर्जरमा

२ वर्षअघि समितिले निर्जीवन बीमा व्यवसाय गर्नेको पुँजी न्युनतम १ अर्ब र जीवन बीमाको २ अर्ब रुपैयाँ निर्धारण गरेको थियो । बीमा कम्पनीले धमाधम हकप्रद सेयर निष्कासन र बोनस वितरण गरेर पुँजी पुर्याउने तयारी थालेपनि अधिकांशको यो आर्थिक वर्षसम्म पुँजी नपुग्ने देखिएको छ ।

काठमाडौं । बीमा समितिले न्युनतम चुक्तापुँजी नपुर्याउने बीमा कम्पनीलाई एक आपसमा गाभिन (मर्जर) मा पठाउने भएको छ । गत पुससम्म पनि न्युनतम चुक्तापुँजी नपुगेका जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्नेमध्ये अधिकांश कम्पनीलाई मर्जरमा पठाउन लागेको हो ।

समितिले बीमा कम्पनीलाई गत असारसम्म न्युनतम पुँजी पुर्याउन निर्देशन दिएको भए पनि अधिकांश कम्पनीले चुक्तापुँजी नपुर्याएपछि ६ महिना थप गरेर गत पुससम्मको समय दिएको थियो । तर, पुससम्म पनि निर्देशन पालना नगरेका बीमा कम्पनीलाई मर्जरमा पठाउन लागेको समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बताए ।

उनले मर्जरमा जाने बीमा कम्पनीलाई समितिले सहुलियतसमेत दिने प्रतिवद्धता व्यक्त गरेका छन् । २ वर्षअघि समितिले निर्जीवन बीमा व्यवसाय गर्नेको पुँजी न्युनतम १ अर्ब र जीवन बीमाको २ अर्ब रुपैयाँ निर्धारण गरेको थियो । बीमा कम्पनीले धमाधम हकप्रद सेयर निष्कासन र बोनस वितरण गरेर पुँजी पुर्याउने तयारी थालेपनि अधिकांशको यो आर्थिक वर्षसम्म पुँजी नपुग्ने देखिएको छ ।

समितिको ५१ औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले संख्यात्मकभन्दा पनि गुणात्मक सेवा दिनुपर्ने बताउँदै बीमा कम्पनीको मर्जर आवश्यक भएको बताएका थिए । उनले समितिको मर्जर गर्ने योजनाको खुलेरै प्रशंसासमेत गरे । ‘संख्याको विस्तार गरिरहदा त्यसको प्रतिस्पर्धात्मक क्षमताको आधारबाट मर्जरमा जान नपरोस भनेर न हिजो बैङ्किङ्ग लाइसेन्स जारी गर्दा सोचियो, नत अहिले बीमाको लाइसेन्स जारी गर्दा नै, अब आगामी दिनमा यस्तो अवस्था नआओस’ उनले भने । संख्यात्मक विस्तारले हामीलाई कहीँ पनि पुर्याउँदैन भन्ने कुरा बैङ्किङ्ग लाइसेन्स वितरणबाट देखाएको उनले स्पष्टपारे ।

अहिलेसम्मको अवस्था हेर्दा समितिले तोकेको न्युनतम चुक्ता पुँजी थोरै कम्पनीले मात्र पुर्याउन सक्ने देखिएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुुर्याएका छनभने एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुर्याउँदै छ ।

नेपाल लाईफको ४ अर्ब ३९ करोड, नेसनल लाईफको ३ अर्ब र एसियन लाईफको २ अर्ब रुपैयाँ पुग्दैछ । हकप्रद निष्कासनपछि एसियनको न्युनतम चुक्तापुँजी पुग्ने देखिएको छ ।

समितिका अनुसार प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी १ अर्ब ७८ करोड, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ छ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ अर्ब १३ करोड रुपैयाँ छ । सूर्याले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गरेर २ अर्ब रुपैयाँ पुर्याउने तयारीमा छ । गुराँस लाईफ इन्स्योरेन्स लिमिटेडको पुँजी ५९ करोड ४० लाख रुपैयाँ मात्र छ । उसले अझै १ अर्ब ४० करोड रुपैयाँ पुर्याउन बाँकी छ ।

निर्जीवनतर्फ आधा दर्जन कम्पनीले मात्र न्युनतम पँुजी पुर्याएका छन । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड, एभरेस्ट इन्स्योरेन्स लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब पुँजी पुर्याइसकेका छन् । नयाँ लगानीकर्ताको प्रवेशपछि नेको इन्स्योरेन्स आक्रमक रुपमा बजार विस्तारमा गएको छ ।

यसैगरी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको पुँजी ५४ करोड रुपैयाँ छ । उसले अझै ४६ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड ८८ करोड रुपैयाँ छ । लुम्बिनीले पुँजी १ अर्ब रुपैयाँ पुर्याउन २० प्रतिशत हकप्रद निष्कासन गर्न विशेष साधारणसभा बोलाएको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८६ करोड ५९ लाख, एनएलजी इन्स्योरेन्स लिमिटेडको ६४ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड १५ लाख रुपैयाँ छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ५८ करोड ४० लाख, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ५३ करोड ८२ लाख, युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड २४ लाख रुपैयाँ छ ।

युनाइटेडले पुँजी बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरेको छ । युनाईटेडले २४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु पनि अस्वस्थ प्रतिस्पर्धाका कारण मर्जरमा जाने पक्षमा देखिएका छन् ।