ट्रेडमार्क चोरीको बिगबिगी

यस्तो कामबाट सबैभन्दा बढी उपभोक्ता मर्कामा पर्छन् । ट्रेडमार्क चोरी गरेर सामान उत्पादन गरेपछि उपभोक्ता झुक्किन्छन् र ठगिन्छन् । त्यसको फाइदा आफ्नो ट्रेडमार्क लोकप्रिय बनाउने कम्पनी होइन, चोरी गर्ने कम्पनीले लिन्छ ।

कुनै एउटा कम्पनीले व्यावसायिक प्रवद्र्धन र ब्रान्ड स्थापित गर्न करोडौँ रुपैयाँ खर्च गर्छ । तर, अर्को कम्पनीले त्यसको कपी गरेर उही र उस्तै नाममा वस्तु बजारमा ल्याउँछ । यस्तो कामबाट सबैभन्दा बढी उपभोक्ता मर्कामा पर्छन् । ट्रेडमार्क चोरी गरेर सामान उत्पादन गरेपछि उपभोक्ता झुक्किन्छन् र ठगिन्छन् । त्यसको फाइदा आफ्नो ट्रेडमार्क लोकप्रिय बनाउने कम्पनी होइन, चोरी गर्ने कम्पनीले लिन्छ ।

अहिले यस्तै समस्या झेलिरहेको छ म्याजिक जुत्ता–चप्पलले । आफ्नो उत्पादनलाई ब्रान्डिङ गर्न मनग्गे खर्च गरिरहेको म्याजिक फुटवेयर यसको सिकार भएको छ । जय श्री पियू टेक, जय श्री कम्पनी प्रालि र जय श्री पोलिमर्स प्रालिले उत्पादन गरेका म्याजिक जुत्ता, चप्पलको ट्रेडमार्क चोरेर भारतबाट त्यही नाममा सामान बजारमा बिक्री गरेपछि कम्पनीले कानुनी उपचार खोजेको छ ।

म्याजिक गोल्ड, पियू म्याजिक, प्लेक ब्याक ब्रान्ड चोरी भएको कम्पनीले जनाएको छ । कम्पनीले पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२, उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार बौद्धिक सम्पत्ति संरक्षणविरुद्ध हुने गरी चोरी गर्ने व्यक्ति र कम्पनीलाई कारबाहीको माग गरेको छ । नेपाली आयातकर्ताले भारतबाट म्याजिकको जस्तै हुबहु नक्कल गरी गुणस्तरहीन सामान बेचेको कम्पनीले भेटेपछि विज्ञप्ति प्रकाशन गरेर उपभोक्तालाई सचेत हुन आग्रहसमेत गरेको छ ।

ट्रेडमार्क चोरीको असर भोग्ने म्याजिक एक्लो कम्पनी भने होइन । अहिले नाम चलेका स्वदेशी तथा विदेशी ब्रान्डका कम्पनीका ट्रेडमार्क कपी गरेर मिल्दाजुल्दा सामान बिक्री गरेर छोटो समयमै फाइदा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । उद्योग विभागका अनुसार दैनिक उपभोग्य वस्तु, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स सामानलगायतका वस्तुको चोरी भएको उजुरी परेका छन् । चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो सात महिनामै ७८ वटा ट्रेडमार्क चोरीका उजुरी परेको उद्योग विभागले जानकारी दिएको छ । विभागमा ६ सय ८ ट्रेडमार्क चोरीका उजुरी परेको भए पनि अहिलेसम्म १ सय ५७ उजुरीको सुनुवाई गरेको विभागका प्रवक्ता दुर्गा भुषालले बताए ।

नेपाली कम्पनीमात्र नभएर विदेशी कम्पनीको ट्रेडमार्क चोरी गरी ती सामान नेपाल आउने बाटो नै बन्द गर्ने प्रयास हुँदै आएको छ । ट्रेडमार्क चोरी रोक्नको लागि पुरानो कानुन संशोधनको प्रक्रियामा रहेको प्रवक्ता भुषालले बताए । ट्रेडमार्क ऐन २०२२ लाई संशोधन गरेर ब्रान्ड, डिजाइनको पनि सुरक्षा दिने प्रक्रिया सुरु भइसकेको विभागले जनाएको छ ।