औद्योगिक प्रदर्शनी चैतमा

‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो ।

स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन र उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो ।

समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

मेलामा गलैँचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिनाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जनाएको छ ।

सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईओटाका दरले कक्ष रहने बताए । ‘प्रत्येक जिल्लाबाट दुईओटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौँ, बाँकी कक्ष राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,’ उनले भने । समितिले हरेक वर्ष यो मेला गर्दै आएको छ ।

रासस