आफ्नो छ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले पत्रकारमाझ भने, ‘प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गरेका छन् ।
आफ्नो छ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले पत्रकारमाझ भने, ‘प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु । नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा नरहने निर्णय गरेको छु ।’
योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, सङ्घीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्याङ्क सङ्कलन, भूइँचालोजस्ता दैवीविपत्तिको प्रभाव मूल्याङ्कन, केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले छ महिनामा उल्लेखनीय काम गरेको उनले बताए ।
नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयम् सेवा, दसवर्षीय विकासको मार्गचित्र, आर्थिक, सामाजिक एवं वातावरणीय उन्नयन, आर्थिक गणना, तथ्याङ्कमा आधारित नीति तर्जुमा, आधुनिक ऊर्जाको उपयोगजस्ता विषयमा आयोगले तयार पारेका योजनालाई सरकारी अभिलेखमा समावेश गरिएको जानकारी पनि उनले दिए । सोही कार्यक्रममा उपाध्यक्ष वाग्लेले आयोगको प्रकाशन ‘१४ वर्षे दिगो विकास लक्ष्य’ सार्वजनिक पनि गरे । गत साउनमा उपाध्यक्ष नियुक्त उनले नेपालको दीर्घकालीन विकास दृष्टिकोण, आर्थिक तथा नीतिगत सुधार, भौतिक पूर्वाधार, सङ्घीयतामा वित्त, तथ्याङ्कमा आधारित नीतिनिर्माण, विकास कूटनीति सञ्चालन, द्विपक्षीय, बहुपक्षीय विकासका साझेदारसँगको सहकार्य र प्राविधिक एवम् वित्तीय सहायता प्राप्तिमा भूमिका निर्वाह गरेका थिए ।
रासस