सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समेत यस क्षेत्रमा आकर्षित भएका हुन् ।
लगानीमैत्री वातावरण तथा सहज कानुनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब रुपैयाँराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको सङ्ख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।
सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समेत यस क्षेत्रमा आकर्षित भएका हुन् ।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने निजी व्यवसायी तथा उद्यमीको माग बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यका बाहिर होटल खोल्न सहज कार्यविघि कार्यान्वयनमा ल्याएपछि आकर्षणको मात्रा बढेको हो । पछिल्लो पटक टाइगर प्यालेस रिसोर्ट भैरहवा (पाँचतारे), होटल इच्छा बारा (चारतारे), कृष्णा होटल नेपालगञ्ज (चारतारे) होटल सञ्चालनमा आइसकेका छन् ।
यस्तै राजधानीकै नक्सालमा जे डब्ल्यू म्यारियट र ठमेलमा समेत नयाँ होटल खुल्ने तयारीमा छन् । गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेको लगानी रहेको होटल शेराटन निर्माणाधीन अवस्थामा छ । पर्यटकको आगमन र रोजगारीको अवसर वृद्धिका लागि नयाँ/नयाँ होटल सञ्चालनमा आउनु नेपालको पर्यटन बजारका लागि सुखद देखिन्छ । विदेशमा सञ्चालनमा रहेका र नेपालमा समेत शाखा खोल्ने लक्ष्यका साथ विदेशी होटल सेवा प्रदायक समेत पछिल्लो दिनमा आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय ‘चेन होटल’ को रुपमा त्यस्ता संस्था वा निकायले नेपालमा एक दर्जनको हाराहारीमा आफ्ना शाखा विस्तार गरेका छन् ।
त्यस्ता होटलको सम्पूर्ण व्यवस्थापनको दायित्व समेत नेपालीलाई नै दिइएको छ । रोजगारीको अवसर तथा अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउन समेत त्यस्ता चेन होटल सहायक सिद्ध हुने होटल एसोसिएसन अफ नेपाल(हान)का महासचिव विनायक शाह बताउँछन् । लगानीमैत्री वातावरणका कारण होटलमा लगानी गर्ने वातावरण बढ्दै गएको भन्दै महासचिव शाहले आगामी केही वर्षभित्रै नेपाल संसारकै आकर्षक गन्तव्यका रुपमा परिचित हुने दाबी गरे ।
हाल सञ्चालनमा रहेका होटलमा ४५ हजार शैय्या सङ्ख्या पुगेको छ । आगामी तीन वर्षभित्र थप चार हजार शैय्या थपिनेछन् । सो सङ्ख्या थपिएपछि करिब ३० लाख पर्यटकलाई सेवा दिन सकिने हानका महासचिव शाहको भनाइ छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा समेत सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको जनाइएको छ । समीक्षा अवधिमा कुल सेवा आयमा ११.७ प्रतिशत र कुल सेवा खर्च १९.८ प्रतिशतले बढेको देखिन्छ । पछिल्लो समय लगानीको मात्रामा समेत वृद्धि भएको छ ।
बैङ्क तथा वित्तीय क्षेत्रले पनि पछिल्लो दिनमा होटल तथा सेवा क्षेत्रमा लगानी बढाएका छन् । घर जग्गा क्षेत्रमा मात्रै लगानी गर्दै आएका बैङ्क तथा वित्तीय संस्थाको लगानीको क्षेत्रमा होटल पर्न थालेको छ । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैङ्कको निर्देशनअनुसार पर्यटन क्षेत्रमा पाँच प्रतिशत लगानी गर्नैपर्ने भएकाले विशेष जोड दिइएको बताए ।
उनले भने, ‘केन्द्रीय बैङ्कले ५ प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरे पनि त्यसअनुसार लगानी पुग्न सकेको छैन । हाल तीन प्रतिशत मात्रै छ । आगामी वर्ष भने तोकिए बमोजिम नै पुग्छन्, हामी प्रयारत छौं ।’ केन्द्रीय बैङ्कले तोकेअनुसार बैङ्क तथा वित्तीय संस्थाले पाँच खर्ब ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । बैङ्कले तत्काल नै उक्त परिमाण बराबरको लगानी गर्नसक्ने अवस्था भने छैन । नयाँ होटल निर्माण, पुरानाको स्तर वृद्धि जस्ता काममा उक्त ऋण प्रवाह भएको छ । चालु आवमा होटल क्षेत्रमा लगानी १५ प्रतिशतले बढेको व्यवसायीको भनाइ छ ।
होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा पनि उत्तिकै रहेकाले सरकार, व्यवसायी तथा सरोकार भएका पक्षले विशेष ध्यान दिनुपर्ने होटल व्यवसायी योगेन्द्र शाक्यको भनाइ छ । होटल बढाएर मात्रै नभई नेपाली मौलिक स्वादसमेत पर्यटकका लागि उपलब्ध गराउनुपर्ने अवस्था पनि होटल क्षेत्रका लागि चुनौती बन्दै गएको छ । यही चुनौतीलाई सम्बोधन गर्न नेपाल पर्यटन बोर्ड, हानलगायतका संस्थाको अग्रसरतामा २० नेपाली मौलिक परिकारलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान समेत सुरु गरिएको छ ।
वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले यसको संयोजन गरिरहेका छन् । नेपाली परिकारलाई विश्वव्यापी बनाएर पर्यटक आर्कषण गर्ने योजनाअनुसार नै त्यस्तो अभियान सुरु गरिएको व्यवसायी शाक्यको भनाइ छ । पर्यटन विभाग, होटल शाखाका अधिकृत गौतम रिमालकाअनुसार पछिल्लो दिनमा कार्यान्वयनमा ल्याइएको कार्यविधिअनुसार होटल क्षेत्रमा लगानीको मात्रा तथा गुणस्तर कायम गर्नुपर्ने चेतनाको विकास समेत भएको छ ।
उनले होटलमा लगानी गर्न चाहने बढ्दै गएको र विभागमा समेत जानकारी लिन आउनेको सङ्ख्यामा बढोत्तरी भएको बताए । तारे र पर्यटकीय होटलको अनुमति विभागले दिने गरेको छ भने अन्य होटल स्थानीय प्रशासन तथा साना तथा घरेलु विभाग, महानगरपालिका तथा नगरपालिकामा दर्ता गर्न सकिने व्यवस्था छ ।
विभागका अनुसार हाल ११ पाँचतारे, सात चारतारे, ३७ तीनतारे, ५० दुईतारे र ३७ एकतारे होटल सञ्चालनमा छन् । यस्तै पर्यटकस्तरका ४८७ होटल सञ्चालनमा छन् । दुईतारे र एकतारे होटल विभागका शाखा कार्यालयमा समेत दर्ता हुने हुँदा यो सङ्ख्या अझ बढी हुने रिमालको भनाइ छ ।
रासस