रेमिट्यान्स आप्रवाह २०.९ प्रतिशत बढ्यो, शोधनान्तर घाटा ६४ अर्ब

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो ।

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह २०.९ प्रतिशतले वृद्धि भएको छ । गत चैतसम्म ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.९ प्रतिशतले वृद्धि भई ७ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ७२ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा थियो ।