कर्जाको ब्याजदर घट्दो अवस्थामा, औसत १२.२८ प्रतिशत

बैङ्कहरुको आधारदर घटेपछि कर्जाको ब्याज पनि घटेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

काठमाडौं । कर्जाको ब्याजदरमा कमी आएको छ । गत चैतसम्म वाणिज्य बैङ्कहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर घटेर औसत १२.२८ प्रतिशतमा झरेको छ । फागुनमा कर्जाको औसत ब्याजदर १२.३३ प्रतिशत थियो । बैङ्कहरुको आधारदर घटेपछि कर्जाको ब्याज पनि घटेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कका अनुसार गत वर्ष औसत आधारदर १०.४० प्रतिशत रहेकोमा घटेर ९.६४ प्रतिशत छ । चैतमा वाणिज्य बैङ्कहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६७ प्रतिशत थियो ।

९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर घटेर ४.४४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.९८ प्रतिशत थियो । वाणिज्य बैङ्कहरुबीचको अन्तर–बैङ्क कारोबारको भारित औसत ब्याजदर बढेर चैतमा ५.२८ प्रतिशत कायम भएको छ ।