नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने

आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको थियो । उक्त रकमका ब्याजसमेत जोड्दा असुल गर्नुपर्ने बक्यौता ४ अर्ब ३१ करोड पुगेको कार्यालयले जनाएको छ ।

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ राजस्व तिर्न आन्तरिक राजस्व कार्यालय वानेश्वरले पत्र लेखेको छ । व्यवसायी अजेयराज सुमार्गी सञ्चालक रहेको सो टेलिकमलाई पटक पटक ताकेता गर्दा पनि राजस्व नतिरेको भन्दै राजस्व कार्यालयले पत्र लेखेको हो ।

आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको थियो । उक्त रकमका ब्याजसमेत जोड्दा असुल गर्नुपर्ने बक्यौता ४ अर्ब ३१ करोड पुगेको कार्यालयले जनाएको छ ।

सुमार्गीले ७ वर्षअघि ‘नेपाल स्याटेलाइट टेलिकम’को सेयर टेलिया सोनेरालाई बिक्री गर्दा प्राप्त पुँजीगत लाभ बापतको कर नतिरेको कार्यालयको सूचनामा जनाइएको छ ।

‘हेलो नेपाल’ ब्रान्डको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलिया सोनेराले ५ अर्ब ६३ करोड ५० लाखमा खरिद गरेको थियो । तर, उक्त खरिद बिक्रीको लाभकर नपाएपछि १५ दिनको समय दिँदै राजस्व कार्यालयले सूचना जारी गरेको हो ।

कर तिर्ने पत्र करदाताको विद्युतीय ठेगानामा २०७६ वैशाख १२ गते पठाइएको र करदाताका प्रतिनिधिले वैशाख १६ मा बुझेको जनाइएको छ । कार्यालयबाट उक्त जवाफसमेतलाई मध्यनजर गरी कर निर्धारण गर्नुपर्ने गरी वैशाख ३१ मा निर्धारण गरी आयकर ऐन, २०५८ को दफा १०२ बमोजिम कर निर्धारण आदेश जारी गरी जेठ १ गते हेलो नेपालमा पत्र बुझाउन पठाइएकोमा कम्पनीबाट बुझ्न अस्वीकार गरी पत्र फिर्ता भएकाले विद्युतीय ठेगाना र हुलाकमार्फत पुनः पत्र पठाइएको विज्ञप्तिमा उल्लेख छ ।