सिमेन्टमा संरक्षण कहिलेसम्म ? क्लिङकर भारतभन्दा नेपालमा प्रतिटन २५ सय सस्तो

भारतबाट क्लिङ्कर ल्याउँदा सरकारले प्रतिटन २ हजार ४ सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ । तर, अहिले भारतको तुलनामा नेपालमै उत्पादित क्लिङ्कर २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म सस्तो पर्न थालेपछि संरक्षण आवश्यक नरहेको उद्योगीहरु नै बताउन थालेका छन् ।

काठमाडौं । सिमेन्ट उद्योगको संरक्षण गर्न सरकारले ३५ प्रतिशतसम्मको ‘संरक्षण नीति’ लिए पनि अहिले भारतको तुलनामा नेपालको क्लिङ्कर प्रतिटन दुई हजार ५ सय रुपैयाँसम्म सस्तोमा पाइन थालेको छ ।

भारतबाट क्लिङ्कर ल्याउँदा सरकारले प्रतिटन २ हजार ४ सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ । तर, अहिले भारतको तुलनामा नेपालमै उत्पादित क्लिङ्कर २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म सस्तो पर्न थालेपछि संरक्षण आवश्यक नरहेको उद्योगीहरु नै बताउन थालेका छन् ।

‘केही वर्षअघिसम्म नेपालमा विद्युतको ठूलो समस्या थियो । उद्योग तथा खानीसम्म पुग्ने बाटोको अभाव थियो । बाटो बनाउँदा त्यसको खर्च उत्पादनमै जोडिएकाले सरकारले लिएकोे संरक्षण नीति उपयुक्त थियो,’ आरएमसी ग्रुपमा प्रबन्ध निर्देशक राजेश अग्रवालले क्यापिटल नेपालसँग भने, ‘तर, अहिले भारतको तुलनामा नेपालकै क्लिङकर सस्तो भइसक्यो, अब संरक्षण आवश्यक छैन ।’

केही वर्षअघिसम्म नेपालमा अधिकांश ग्राइन्डिङ मेसिन मात्रै थिए, जसले क्लिङ्कर पेलेर सिमेन्ट बनाउँथे । तर, अहिले अधिकांश उद्योगको आफ्नै क्लिङ्कर उद्योग छ । त्यसैले संरक्षण आवश्यक नरहेको उनको जिकिर छ ।

सरकारले ३५ प्रतिशतको संरक्षण नीति लिँदैमा सिमेन्टको निर्यात बढ्न सक्दैन । किनभने, जुन देशमा नेपालका उद्योगीले निर्यात गर्न चाहन्छन्, त्यो देशमै नेपालको तुलनामा सस्तो सिमेन्ट उपलब्ध हुँदै आएको उनको भनाइ छ ।

अग्रवालका अनुसार अहिले भारतमा क्लिङ्करको मूल्य प्रतिटन १० हजार ५० रुपैयाँ पर्छ । जबकि, नेपालमै प्रतिटन क्लिङ्कर ८ हजारदेखि ८ हजार ५ सय रुपैयाँ पर्छ । अहिले सरकारले प्रतिटनमा २ हजार ४ सय ५० रुपैयाँको सरक्षण दिएको हो । त्यो भन्दा ५० रुपैयाँ सस्तो त नेपालमै पाउन थालेको उद्योगी अग्रवाल बताउँछन् ।

उनका अनुसार अहिले भारतबाट क्लिङ्कर आयात पूर्ण रुपमा रोकिएको छ । एकाध ग्राइन्डिङ मेसिनले स्वदेशी क्लिङ्कर उद्योगबाट किनेर सिमेन्ट बनाइरहेका छन् ।

बजारमा नयाँ प्लेयरका रुपमा केही उद्योग आएपछि भारतमा भन्दा नेपालमा क्लिङ्कर सस्तो भएको उद्योगीहरु बताउँछन् ।