गोरखा । गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुसी भएका छन् । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअर्न्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुसी भएका हुन् ।
“मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर वृद्धवृद्धाहरुलाई सेवा दिएकोमा खुसी लागेको छ”, गोरखा नगरपालिका–१ ताप्लेका तेजबहादुर खत्रीले भने, “यहाँका वृद्धवृद्धाहरुलाई सहरमा गएर उपचार गराउन समस्या हुँदै आएका थियो, अहिले शिविर राखेर गाउँ घर मै वृद्धवृद्धाहरुलाई स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै सजिलो भएको छ ।”
सोमबार सम्पन्न भएको शिविरमा १५१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । शिविरमा ७० देखि माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । रासस