नेपाल आर्थिक सङ्घले आयोजना गरेको प्रि बजेटसम्बन्धी छलफल कार्यक्रममा सरकारले ल्याएको एफडीआईमैत्री कानुनको प्रशंसा गर्दै पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बाैद्धिक सम्पत्तिको कानुन पनि आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं । पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई आकर्षण गर्नका लागि सरकारले धेरै ओटा मैत्रीपूर्ण कानुन ल्याएको बताउँदै इन्टिल्याक्च्युअल प्रोपर्टी अर्थात् बाैद्धिक सम्पत्तिमा अधिकारजस्ता कानुन स्पष्ट हुन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक सङ्घले आयोजना गरेको प्रि बजेटसम्बन्धी छलफल कार्यक्रममा सरकारले ल्याएको एफडीआईमैत्री कानुनको प्रशंसा गर्दै उनले बाैद्धिक सम्पत्तिको कानुन पनि आवश्यक रहेको बताएका हुन् ।
माइक्रोसफ्ट, अमेजन र अलिबाबा जस्ता भर्चुअल कम्पनीहरुको उदाहरण दिँदै उनले अहिले विश्व अर्थतन्त्रको मोडल भर्चुअल प्रविधिमा सिफ्ट हुँदै जाँदा यो कानुनको स्पष्टताबिना एफडीआईको सुनिश्चितता हुन नसक्ने बताएका हुन् । उनले देशको विप्रेषण, पर्यटन, मौसम, पुनर्निर्माण लगानीका लागि राम्रो भएको अवस्थामा दुई तिहाई निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले पनि निजी क्षेत्रसँग सम्बद्ध रहेका विधेयकलाई निजी क्षेत्रमैत्री बनाउनु पर्ने बताए ।
कार्यक्रममा उपस्थित योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेँलले भने सरकारले खर्च गर्नसक्ने क्षमता नबढाएसम्म आर्थिक वृद्धि नहुने र प्रत्यक्ष विदेशी लगानीका स्रोत पनि सुनिश्चित हुन नसक्ने बताए ।