प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

भोजपुर । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

घाइते घिमिरेको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पु¥याउन ढिला भएको प्रजिअ खतिवडाको भनाइ छ ।

घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । विप्लव समुहले भने मुठभेट नभएको बताएको छ । उसले घिमिरेलाई प्रहरीले समातेपछि गोली हानेको आरोप लगाएको छ ।