नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि विद्युत् उपभोग गर्ने कुरालाई नगरवासीले प्राथमिकता दिएका छन् । स्थानीयवासीको मागअनुसार नै वडा कार्यालयहरुले विद्युत् सेवा प्रवाह गर्ने विषयमा बजेट विनियोजन गरेका छन् तर वडा कार्यालयले विनियोजन गरेको सो बजेट खर्च हुन सकेको छैन ।
लम्की । कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका झण्डै आधा बासिन्दाले बिजुली बाल्न पाउँंदैनन् । नगरपालिकाका वडा नं ४, ५, ७ र ९ मा अझै विद्युत् सेवा पुग्न सकेको छैन । अन्य वडा नं ३ र १२ का केही भूभागमा समेत विद्युत् सेवा पुगेको छैन ।
करीब ४० हजार बासिन्दा बसोबास गर्ने ती वडामा अझै विद्युत् सेवा नपुगेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कूल जनसङ्ख्या ८९ हजार छ । ‘‘भौगोलिक रुपमा टाढा रहेका मात्रै हैन पूर्वपश्चिम राजमार्गसंँगैका भूभागमा बस्दै आएका बासिन्दाले समेत विद्युत् सेवा उपभोग गर्न पाएका छैनन्’’, स्थानीयवासी जमुना न्यूरेले भनिन् ।
नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि विद्युत् उपभोग गर्ने कुरालाई नगरवासीले प्राथमिकता दिएका छन् । स्थानीयवासीको मागअनुसार नै वडा कार्यालयहरुले विद्युत् सेवा प्रवाह गर्ने विषयमा बजेट विनियोजन गरेका छन् तर वडा कार्यालयले विनियोजन गरेको सो बजेट खर्च हुन सकेको छैन । गाउँमा विद्युत् सेवा पु¥याउने जिम्मेवारी नगरपालिकाले पूरा गर्न सकेको छैन ।
‘‘गाउँमा बिजुली पुर्याउने जिम्मेवारी हाम्रो हो वा सङ्घीय सरकारको हो, हामी स्पष्ट छैनाैं,’’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले भने, ‘‘त्यसै कारण वडा कार्यालयबाट विनियोजित बजेट खर्च हुन सकेको छैन ।’’
केही वर्षअघि कैलाली र कञ्चनपुर जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् सेवा पुर्याउन डानिडा सरकारले काम गर्यो । दुवै जिल्लाका धेरैजसो भूभागमा विद्युत् सेवा पुगेको पनि छ तर हाल घोडाघोडी नगरपालिकामा परेका साविकका केही गाविसमा भने उसले काम गरेन । सो क्षेत्रमा काम गर्न गएका संस्थाका प्रतिनिधिलाई स्थानीय राजनीतिक कार्यकर्ताले दुःख दिएपछि काम हुन नसकेको बताइन्छ ।
डानिडाले काम नगरेपछि अन्धकार केही गाविसमा विद्युत् सेवा पुर्याउने भन्दै २०६७ सालमा केही युवाको पहलमा घोडाघोडी सामुदायिक विद्युत् सहकारी संस्था लिमिटेड गठन भयो । सो संस्थाले जनताको १० प्रतिशत र ऊर्जा मन्त्रालयको ९० प्रतिशत लगानीमा विद्युत् सेवा विस्तार गर्ने कामको मध्यस्थता गर्यो ।
उसले जनतासँग १० प्रतिशत रकम सङ्कलन गर्न थाल्यो । साविक साढेपानी गाविसका बासिन्दाले दुई वर्षमै ३० लाख जम्मा गरे । विसं २०६९ मा ठेक्का भयो र २०७२ मा तीन हजार दुई सय घरधुरीमा बिजुली बल्यो ।
संस्थाका अध्यक्ष भीम बडुवालका अनुसार साविक दरख र रामशिखरझाला गाविसका बासिन्दाले भने पाँच वर्षसम्म रकम जम्मा गर्न सकेनन् । सो अवधिमा उनीहरुले १० प्रतिशतअन्तर्गत एक करोड मात्रै जम्मा गर्न सके र थप ४० लाख अपुग भयो । विभिन्न संघसंस्थासँगको सरसहयोगमा २०७२ माघमा थप ४० लाखसमेत जम्मा भएपछि २०७२ फागुनमा १४ करोडको बोलपत्र भएको अध्यक्ष बडुवाल बताउँछन् ।
ठेकेदारले समयमा काम गर्न नसकेपछि विद्युत् सेवा विस्तारको काममा ढिलाइ भएको उनको भनाइ छ । उनले राजनीतिक संरक्षणमै ठेकेदारले काममा लापरवाही गर्ने गरेको आरोप लगाए । ‘‘तीन वर्ष भयो । अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन’’, उनले भने, ‘‘ठेकेदारले समयमा काम गरेन । दोष जति हामीमाथि थोपरियो ।’’
हालसम्म चार हजार आठ सय खम्बा गाडिएका छन् । एक हजार तीन सय खम्बामा तार तानिएको छ । छ सय केभी क्षमताका २७ ट्रान्सफर्मर जडान भएका छन् । कतिपय ठाउँमा अहिलेसम्म खम्बासमेत गाडिएका छैनन् । हालको वडा नं ९ अर्थात् साविक रामशिखरझाला गाविसका केही भूभागमा अहिलेसम्म स्थानीयवासीले बिजुलीका खम्बासमेत देख्न पाएका छैनन् ।
वडाध्यक्ष कृष्ण शाहले सहकारी संस्थामा तालाबन्दी गरेपछि केही ठाउँमा खम्बा फालिएको बताए । उनले समयमा काम गर्न नसक्ने ठेकेदारसँगको सम्झौता खारेज हुनुपर्ने माग गरे । उनले वडाबासीले कहिले बिजुली आउँछ भनेर प्रश्न गर्दा नाजवाफ हुनुपर्ने अवस्था आएको दुःखेसो पोखे ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले समेत जनताले विद्युत् सेवा उपभोग गर्न नपाएर निकै दवाव सिर्जना भइरहेको बताए । उनले पछिल्लो समयमा जनताले सबै समस्याको समाधान स्थानीय तहबाटै हुनुपर्ने अपेक्षा गरेका कारण नगरपालिका दवावमा परेको बताए । उनले नगरपालिकास्तरबाट हुने पहलका लागि आफू सदैव प्रयासरत रहेको बताउँदै सहकारी संस्थाले अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए । –दुर्गा देवकोटा/रासस