अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता

अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो ।

भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारका तर्फबाट सदासयता देखाइएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

बेलायती सरकार द्विपक्ष्ािय दातृनिकायमध्ये सबैभन्दा ठूलो दातृनिकाय भएकोमा धन्यवाद दिँदै मन्त्री खतिवडाले आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउनेतर्फ सरकार सजग रहेको स्पष्ट पारे । भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारे ।

भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्तिसम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराइन् । उनले नेपाल सङ्घीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखिन् ।

उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरिन् । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशतिाको सिको विश्वले गर्नुपर्ने बताइन् ।