सांसद विनोद चौधरीद्वारा नवलपुरका हुरी पीडितलाई सय बन्डल जस्तापाता सहयोग

नेपाली काँग्रेसका सांसद एवम् चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याएपछि सहयोग उपलब्ध गराएका हुन् ।

काठमाडौं । नवलपुरको देवचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउन्डेसनले सय बन्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ ।

नेपाली काँग्रेसका सांसद एवम् चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याएपछि सहयोग उपलब्ध गराएका हुन् । जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छाना उडाउनुका साथै क्ष्ँति पुर्याएको थियो ।

‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु । नवलपुरका बासिन्दा र यहाँको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूका साथ छु,’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन्, ‘यो दुःख तपाईंहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।’

बिहीबार चौधरी फाउन्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्ता पाता रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाताको व्यवस्था मिलाएका हुन् । सांसद चौधरीले उपलब्ध गराएको सहयोग करिब १० लाख रूपैया“बराबरको छ ।

जेठ ७ र ८ गते आएको हावाहुरीले देवचुली नगरपालिकाको सीतावास, रामवास, मुण्डे, विशालटार र लक्ष्मीपुर क्षेत्रका घर तथा गोठका छानो उडाएको थियो ।