कैलाश मानसरोवर दर्शनका लागि आएका भारतीय तीर्थयात्रीबाट आठ लाख राजस्व सङ्कलन

हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।

हुम्ला । हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन सुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।

शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला र ४०१ पुरुष गरी ७३३ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार १०० राजस्व उठाउने गरेको छ ।

छ दिनमा हुम्ला भित्रिएका ७३३ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले रु आठ लाख छ हजार ३०० राजश्व सङ्कलन गरेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा राजश्व सङ्कलन गरिरहेका दीपेन्द्र भण्डारीले जानकारी दिए । भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर आठ लाखभन्दा बढी राजश्व सङ्कलन भएको भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजस्व रकम गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ । सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०÷४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।

दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजस्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजस्व पाउने भएको हो ।