क्यापिटल बिजनेस म्यागजिनका सम्पादक चापागाईंलाई रोटरी जोर्नो अवार्ड

विभिन्न विधाका सक्रिय पत्रकारहरुलाई क्लबले हरेक वर्ष यस्तो पुरस्कार दिने गरेको छ । शुक्रबार एक कार्यक्रमबीच रोटरी इन्टरनेसनलले क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईंलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ र सम्मानपत्र छ ।

काठमाडौं । क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईंले यस वर्षको रोटरी जोर्नो अवार्ड २०१९ हात पारेका छन् । आर्थिक पत्रकारहरुको छाता सङ्गठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सिफारिसमा रोटरी इन्टरनेसनलले चापागाईंलाई सो अवार्ड दिएको हो ।

विभिन्न विधाका सक्रिय पत्रकारहरुलाई क्लबले हरेक वर्ष यस्तो पुरस्कार दिने गरेको छ । शुक्रबार एक कार्यक्रमबीच रोटरी इन्टरनेसनलले पत्रकारहरुलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ र सम्मानपत्र छ ।

यसअघि उनले सामना बैङ्किङ पत्रकारिता पुरस्कार २०६९ र एक्यान जर्नालिज्म अनर २०७२ प्राप्त गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिलसम्मको अध्ययन गरेका उनी विगत एक वर्षदेखि क्यापिटल बिजनेस म्यागजिनको सम्पादकका रुपमा क्रियाशील छन् ।

केही समय क्यापिटल बिजनेस नेपाल म्यानेज्मेन्टअन्तर्गतकै क्यापिटलनेपाल डटकमको सम्पादक समेतको जिम्मेवारी निभाएका उनी हाल त्यसको सल्लाहकार सम्पादक छन् । यसअघि क्यापिटल बिजनेस म्यागजिन र क्यापिटल नेपाल डटकममा केही समय समाचार सम्पादकको जिम्मेवारीसमेत निभाएका चापागाईंले कारोबार दैनिक, आर्थिक अभियान साप्ताहिक, दृष्टि साप्ताहिकलगायतमा काम गरेका थिए । यस वर्ष रोटरीले विभिन्न ७ विधामा अवार्ड प्रदान गरेको छ ।

सम्मानित हुनेहरुमा सम्पादक चापागाईंसहित ईडीयू खबर अनलाइनका श्रीधर पौडेल, कान्तिपुर दैनिकका चिफ सबएडिटर अतुल मिश्र, कान्तिपुरका भक्तपुर संवाददाता लीला श्रेष्ठ, नागरिक दैनिककी संवाददाता पवित्राकुमारी सुनुवार र रेडियो रसुवाकी अनुकुमारी आचार्य छन् । यस्तै समाचार संस्थाहरुबाट प्रेस काउन्सिलको सिफारिसमा द राइजिङ नेपाललाई सम्मान गरिएको छ ।