बत्ती मुनिको अध्याँरोमा कुलमानकै गृहजिल्ला

जिल्लाका विभिन्न दुर्गम ग्रामीण बस्ती तथा पहाडी क्षेत्रहरुमा विद्युत् विस्तार हुन नसक्दा ती क्षेत्रहरु अन्धकार छन् ।

सरकारले मुलुकको ७० प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको बताइरहदाँ उज्यालो नेपालका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृहजिल्ला रामेछाप अध्याँरोमा छ ।

विद्युत् वितरण प्रणाली प्रभावकारी हुन नसक्दा जिल्लाका ग्रामीण र पहाडी क्षेत्रहरुमा बत्ती पुगेको छैन । जिल्लाका विभिन्न दुर्गम ग्रामीण बस्ती तथा पहाडी क्षेत्रहरुमा विद्युत् विस्तार हुन नसक्दा ती क्षेत्रहरु अन्धकार छन् । जिल्लामा निर्माण भएको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जिल्लाको वितरण प्रणालीमा सुधार नहुँदा र विद्युत् विस्तारमा ढिलाइ हुँदा अझै ३५ देखि ४० प्रतिशत जनसङ्ख्या अध्याँरोमै छन् ।

विद्युत् विस्तारको काम अहिले तीव्र गतिमा भइरहेको र जिल्लामा दुई वर्षभित्र सबै क्षेत्रमा विद्युत् पु¥याइने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताए । ‘विद्युत् वितरणमा कुनै समस्या छैन । पहाडी क्षेत्र भएकाले धमाधम विस्तारको काम भइरहेको छ’ अधिकारीले भने, ‘अहिले ६० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत् पुगेको छ ।’

विद्युत् विस्तार नभएका पहाडी क्षेहरुमा विद्युतीकरण गर्न ठेक्का सम्झौता भइसकेको र धमाधम काम भइरहेको अधिकारीले जानकारी दिए ।

‘उज्यालो नेपाल’ अभियानस्वरुप देशलाई नै उज्यालो बनाउने अभियानमा लागेका अभियन्ता घिसिङ भन्छन्, ‘हरेक घरमा बत्ती बल्ने गरी काम भइरहेको छ’ उनले भने, ‘एक÷डेढ वर्षभित्र सबै घरमा बत्ती पुग्छ ।’ घिसिङले विश्व बैङ्कको एक अर्ब रुपैयाँको सहयोगमा रामेछापमा काम भइरहेको बताए ।