‘बोनम्यारो’पीडिललाई दुई लाख सहयोग

पचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान सुरु गरेका थिए ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश/विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ ।

विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान सुरु गरेका थिए ।

बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयमा अध्यनरत राजुको अवस्था देखेर आफूहरूले देश विदेशमा हात फैलाउँदा ‘अमेरिकामा रहेका नेपालीबाट एक लाख दुई हजार ३५० रुपैयाँ सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताए । छोरा बचाउनका लागि भएको जायजेथा र घरखेत बेचेर उपचार गर्दै आइरहेको बुबा विष्णुको भनाइ थियो ।

उपचारका क्रममा हालसम्म लाखौँ रकम खर्च भए पनि ‘बोनम्यारो’ नै प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि कसैको नमिलेको तर पछिल्लो पटक आफ्नै शरिर परीक्षण गर्दा आफ्नो ‘बोनम्यारो’ मिल्ने भएकाले यही जेठ १४ गते प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रत्यारोपणका लागि लागि अझै १८ लाखसम्म खर्च लाग्ने सिभिल अस्पतालले जानाएको जानकारी दिँदै उनले ‘बोनम्यारो’ त मिल्यो तर खर्च अपुग भएकाले सहयोगीसँग अझै हात फैलाउनुपरेको बताए । रासस