आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते

जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले प्रयोग गरेको तीन भरुवा बन्दुक पनि बरामद गर्नाका साथै उक्त कार्यमा संलग्न सोही ठाउँका ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घाइते चेपाङको बन्दुक खाली रहेको र अन्य दुई बन्दुक भरिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

दाहिने खुट्टाको घुँडामा गोलीको छर्रा लागेका घाइते चेपाङलाई थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको उनले जानकारी दिए । निजहरुले सो वन क्षेत्रमा बँदेल, जरायोलगायत जनावरको शिकार गर्ने गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनुपर्ने माग सहित मुद्दा दर्ता गर्न लागिएको प्रहरीले जनाएको छ ।

मृत भेटिए श्रेष्ठ

पूर्वी चितवनको कालिका नगरपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । कालिका नगरपालिका वडा नं १ स्थित नौ नम्बर टोल बस्ने अन्दाजी ४७ वर्षीय कुमारसिंह श्रेष्ठ आफैं सुतेको खाटमा मृतावस्थामा फेला परेका हुन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार मृत्युको कारण खुलिसकेको छैन । श्रेष्ठ माइला छोरा र बुहारीसँगै बस्दै आएको उनले जानकारी दिए । रासस