विपन्न परिवारलाई खाटसहित झुल

साविक चन्द्रगढीका वडा नं ३, ४ र ९ का ६५ उपभोक्तालाई ५०० रूपैयाँ मात्रै लिएर आज ६५ वटा खाट तथा झुल वितरण गरिएको हो ।

भद्रपुर । गरीबी न्यूनीकरण कार्यक्रमअन्तर्गत झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले दुई लाख ७३ हजार मूल्य बराबरका ६५ विपन्न परिवारका उपभोक्तालाई खाटसहित झुल वितरण गरेको छ ।

साविक चन्द्रगढीका वडा नं ३, ४ र ९ का ६५ उपभोक्तालाई ५०० रूपैयाँ मात्रै लिएर आज ६५ वटा खाट तथा झुल वितरण गरिएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले वन समूहले आफ्नो आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा खर्च गरिने बताए ।

उनका अनुसार उपभोक्तालाई १२५ खाट वितरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा सो वितरण गरिएको र बाँकी दोस्रो चरणमा वितरण गरिनेछ । पोखरेलले पहिलो चरणअन्तर्गत दुई लाख ७३ हजार मूल्य बराबरका खाट र २५ हजार मूल्य बराबरका झुल वितरण गरिएको छ ।  रासस