विकास निर्माणमा प्रयोग हुने हेभी इक्युप्मेन्टमा पहिलोपटक भ्याट लगाउँदै सरकार

पछिल्लो पटक विकास निर्माण र पूर्वाधारमा अत्याधिक हेभी इक्युप्मेन्टको प्रयोग बढ्दै गएको र आयात पनि बढ्दै जान थालेपछि सरकारले भ्याट लगाउने तयारी थालेको हो ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेभी इक्युप्मेन्टलाई पहिलो पटक मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ । सरकारले अहिलेसम्म हेभी इक्युप्मेन्ट आयातमा ४ प्रतिशत भन्सार मात्रै लगाउँदै आएको थियो । आगामी आर्थिक वर्षको बजेटमार्फत १३ प्रतिशत भ्याट पनि लगाउने तयारी भएको अर्थमा एक उच्च अधिकारीले जानकारी दिए ।

विकास निर्माण र पूर्वाधारमा प्रयोग हुने भएकाले सरकारले हेभी इक्युप्मेन्टलाई यसअघि भ्याट छुट दिएको थियो । पछिल्लो पटक विकास निर्माण र पूर्वाधारमा अत्याधिक हेभी इक्युप्मेन्टको प्रयोग बढ्दै गएको र आयात पनि बढ्दै जान थालेपछि सरकारले भ्याट लगाउने तयारी थालेको हो । हेभी इक्युप्मेन्टअन्तर्गतका ब्याक लोडर, एक्साभेटर, ग्रेडर, रोलर, डोजर, कम्प्याक्टर ग्रेडरलगायतमा सरकारले भ्याटको तयारी थालेको हो ।

‘सरकारले हेभी इक्युप्मेन्ट बाहेक अन्य निर्माण सामग्रीमा १३ प्रतिशत भ्याट लगाउँदै आएको थियो । तर, हेभी इक्युप्मेन्टमा भ्याट लगाइएको थिएन’ ती अधिकारीले भने, ‘यस पटकबाट यसलाई पनि भ्याटको दायरामा ल्याउने तयारी भइरहेको छ ।’

निर्माण सामग्रीमध्ये हेभी इक्युप्मेन्ट मात्रै भ्याटको दायरामा ल्याउन बाँकी थियो । यसलाई पनि आगामी आर्थिक बर्षबाट भ्याटमा समेटिने भएको छ । जेसीबी, स्काभेटर, ब्याकोलोडरलगायतका हेभी इक्युप्मेन्टमा १३ प्रतिशत भ्याट लगाउने भएको हो । अब हेभी इक्युप्मेन्टमा १७ प्रतिशत कर लाग्छ । अहिलेसम्म ४ प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो ।

बार्षिक रुपमा ठूलो कारोबार हुने र त्यो क्षेत्रबाट धेरै भ्याट उठाउन सकिने भन्दै अर्थको आँखा हेभी इक्युप्मेन्टमा परेको हो । ‘अहिले प्रत्येक गाउँका कम्तिमा एउटा स्काभेटर छन्, विकास निर्माणले तीव्र गति लिइरहेका बेला यो क्षेत्र फस्टाउने देखेपछि सरकारले यसलाई पनि भ्याटको दायरामा ल्याउन लागेको हो,’ ती अधिकारीले भने ।

सरकारले अन्य निर्माण सामग्रीलाई निरन्तर रुपमा भ्याट लगाउँदै आएको थियो । यो वर्षबाट हेभी इक्युप्मेन्ट पनि थपिने भएको हो । अहिले नेपालमा एमएडब्ल्यू, पञ्चकन्या ग्रुपलगायतले नेपालमा हेभी इक्युप्मेन्ट आयात गरेर बेचिरहेका छन् ।