डलरमा लाभांश भुक्तानी र वैदेशिक लगानी आगमन दुवैमा गिरावट

गत वर्षको तुलनामा यो वर्ष विदेश जाने लाभांश १३ अर्ब ७६ करोड रुपैयाँ घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ६५ करोड रुपैयाँ लाभांश भुत्तानी वापत विदेशिएको थियो ।

काठमाडौं । विदेशी लगानी ल्याए बापतको लाभांश भुक्तानी घटेको छ । चालू आर्थिक वर्षको हालसम्म विभिन्न विदेशी कम्पनीले २३ अर्ब ८९ करोड रुपैयाँ लाभांश विदेश लगेका छन् । गत वर्षको तुलनामा यो वर्ष विदेश जाने लाभांश १३ अर्ब ७६ करोड रुपैयाँ घटेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ६५ करोड रुपैयाँ लाभांश भुक्तानी बापत विदेशिएको थियो । मोबाइल सेवा प्रदायकको एनसेल प्राइभेट लिमिटेडको लाभांश रोकिएपछि विदेश जाने रकम कम देखिएको हो । चालू खाता भुक्तानीमा लाभांशको अंश २.१५ र गत वर्ष २.५८ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

आर्थिक वर्ष ०७०/०७१ मा २ अर्ब ३० करोड, ०७१/०७२ मा ४ अर्ब ४० करोड, ०७२/०७३ मा पनि ४ अर्ब ४० करोड, ०७३र०७४ मा १४ अर्ब ८० करोड रुपैयाँ लाभाश वापत विदेशिएको थियो ।

वैदेशिक लगानी १०० प्रतिशत घट्यो

दुईतिहाइ बलियो सरकार बनेपछि वैदेशिक लगानीमा निरन्तर गिरावट आएको छ । गत वर्षको तुलनमा यो वर्ष वैदेशिक लगानी १०० प्रतिशतभन्दा बढीले घटेको छ । गत चैतसम्म विभिन्न मुलुकबाट ७ अर्ब १० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा वैदेशिक लगानी ७ अर्ब रुपैयाँभन्दा बढी घटेको राष्ट्र बैङ्कले जनाएको छ ।