घर टहरा नभत्काउँदा कोटेश्वर–कलङ्की सडक निर्माणमा ढिलाइ

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थान लगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

निर्माणाधीन कोटेश्वर–कलङ्की सडक छेउका घर–टहरा भत्काउन ढिलाइ हुँदा काममा अवरोध पुगेको छ ।

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थान लगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

उनले भने, ‘हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।’ चिनियाँ कम्पनी सङ्घाइ निर्माण सेवा समूहले निर्माणको जिम्मेवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ ।

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई÷दुई लेनको सहायक बाटो र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् ।

यी घर–टहराका कारण यस क्षेत्रमा सर्भिस ट्र्याकको काम अवरुद्ध भएको हो । यससँगै पाइप लाइन, विद्युतका पोल लगायतका कारणले काममा ढिलाइ हुने गरेको छ ।

सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ । इञ्जिनियर अर्याल भन्छन्, ‘सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।’ सडकको लागत एक अर्ब रुपैयाँ छ । रासस