मंगलबार अपरान्हदेखि ट्याङ्कर नेपाल भित्रन थालेको हो । नेपाल आयल निगम चारआलीले बुधबारदेखि पेट्रोलियम पदार्थको अभाव पूर्णरुपमा हट्ने जनाएको छ ।
झापा । चार दिनदेखि सीमावर्ती पानीट्यांकीमा रोकिएका पेट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्कर पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिएसँगै पूर्वमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ ।
मंगलबार अपरान्हदेखि ट्याङ्कर नेपाल भित्रन थालेको हो । नेपाल आयल निगम चारआलीले बुधबारदेखि पेट्रोलियम पदार्थको अभाव पूर्णरुपमा हट्ने जनाएको छ ।
अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि झापासहित मेची अञ्चलको चार जिल्लामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।
पेट्रोलियम पदार्थ बोकेका ७२ ओटा ट्याङ्कर भन्सार भएर नेपाल प्रवेश गरेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । पूर्वका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ ।
भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकेको थियो ।