वृद्धभत्ता र कर्मचारीको तलव बढ्ने

चालु आर्थिक वर्षको बजेट कार्यन्जयनका लागि राजश्व परिचालन हुन नसकेको अवस्थामा राजनीतिक दवावमा अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलव र वृद्ध भत्ता बढाउनु पर्ने दवावमा छन् ।

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारी र सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । चालु आर्थिक वर्षको बजेट कार्यन्जयनका लागि राजश्व परिचालन हुन नसकेको अवस्थामा राजनीतिक दवावमा अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलव र वृद्ध भत्ता बढाउनु पर्ने दवावमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि वृद्ध भत्ता बढाउने घोषणा गरिसकेकाले न्युनतम ५०० देखि १ हजार रुपैयाँसम्म बढने अनुमान गरिएको छ । यस्तै कर्मचारीको तलव पनि बढाउन दवाव बढेको अवस्था छ ।

राष्ट्रिय योजना आयोगले १५ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको बजेट सीमा दिएपनि साढे १५ खर्बदेखि १६ खर्ब रुपैयाँ हारहारीमा बजेट आउन सक्ने संभावना छ ।

बुधबार दिउँसो बस्ने मन्त्रीपरिषद्को बैठकले बजेट अनुमोदन गरेपछि अर्थमन्त्री खतिवडाले अपराहन्न चार बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । राजश्व संकलन लक्ष्य भन्दा कम हुने भएपछि अर्थमन्त्री बजेटको आकार बढाउनलाई गाह्रो भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब रुपैयाँको राजस्व परिचालनको लक्ष्य लिएकोमा पुरा नहुने देखिएपछि बजेटको मध्यावधी समीक्षाबाट त्यसलाई घटाएर ९ खर्ब १७ अर्ब रुपैयाँमा झारिएको छ ।

अझै १ खर्ब रुपैयाँको खाडल भएकाले यो लक्ष्य भेटाउन पनि अर्थमन्त्रीलाई मुस्किल देखिएको छ । औसत २० देखि २२ प्रतिशत राजश्व वृद्धि हुने गरेकोमा चालु आर्थिक वर्षमा झण्डै ३५ प्रतिशतको लक्ष्य लिइएको छ ।