सेजका लागि छुट्टयाइएको जग्गामा पहिलो चरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण सुरु भएको छ । दोस्रो चरणअन्तर्गत सेजका लागि आवश्यक प्रशासनिक, बैङ्क, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनका चारओटा सडक निर्माण गर्न थालिएको छ ।
प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ ।
स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपश्चात् चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो ।
सेजका लागि छुट्टयाइएको जग्गामा पहिलो चरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण सुरु भएको छ । दोस्रो चरणअन्तर्गत सेजका लागि आवश्यक प्रशासनिक, बैङ्क, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनका चारओटा सडक निर्माण गर्न थालिएको छ ।
सेजभित्र दर्जनाँंैै उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवम् पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारी दामोदर विडारीले बताए । चार लेनको सडकको मध्य भागमा इँटाको पर्खाल लगाई वृक्षरोपण गरिने उनले बताए । वीरगञ्ज चिनी कारखाना लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गा अधिग्रहण गर्नु अगाडि उक्त क्षेत्रका स्थानीयवासीले खनजोत गर्दैआएका थिए ।
सरकारले सो आयोजना घोषणा गरेको करिब दुई दशक बित्न लाग्दासमेत अहिलेसम्म दोस्रो चरणको काम अगाडि बढ्न सकेको थिएन । चालु आवमा बजेट विनियोजनसँगै काम तीव्र रुपमा अगाडि बढाइएकाले तोकिएको समयभित्र काम पूरा हुने सो कार्यमा संलग्न इञ्जिनियर दिनेश न्यौपानेले बताए ।
पहिलो चरणअन्तर्गत आठ सय ३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यसवर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आत्मनिर्भर बनाउनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडि बढाएको हो । रासस