अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अध्यागमन अधिकृत अर्यालविरुद्ध मुद्दा दायर, करिब २ करोड ७ लाख बराबरको विगो दाबी

आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा अनाधिकृतरुपमा चल/अचल सम्पत्ति जोडेको पाइएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारद्वारा जरी विज्ञप्तीमा जनाइएको छ ।

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अधिकृत अर्याल विसं २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि परीक्षण गरिएको गत मङ्सिरसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिको तुलना गर्दा अनाधिकृतरुपमा चल/अचल सम्पत्ति जोडेको पाइएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारद्वारा जरी विज्ञप्तीमा जनाइएको छ ।

आयोगका अनुसार अधिकृत अर्यालको तलब, भत्ता, कर्जा, कृषि आय, अंश नगद र जग्गा बिक्री लगायतबाट दुई करोड ४९ लाख ९२ हजार ७३० बराबरको आय वैध रहेको देखिए पनि सोही अवधिमा अर्यालले आफू र श्रीमती सरिता नेपालसमेतका नाममा खरीद गरी राखेका र लगानी गरेको चलरअचल सम्पत्ति तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात गरी कूल चार करोड ५६ लाख ८१ हजार ८४१ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

वैध आयको तुलनामा स्रोत नखुलेको दुई करोड छ लाख ८९ हजार १११ बराबरको सम्पत्ति देखिएकाले आयोगले अधिकृत अर्यालसहित उनकी श्रीमती सरिता नेपालविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अर्याल दम्पत्तिविरुद्ध २ करोड ६ लाख ८९ हजार रुपैयाँ विगो दाबी गरी जरिवाना र कैद सजाय माग गरेको छ ।