अस्ताए असल व्यवसाय अभ्यासका अभियन्ता ‘प्रभाकर’

पूर्वराजा ज्ञानेन्द्रका व्यावसायिक साझेदार रहेका राणा व्यवसाय गरेर मुनाफा मात्र कमाउने होइन, त्यहीअनुसार राज्यलाई कर पनि तिर्नुपर्छ भनेर उनले आफ्ना सबै व्यवसायलाई पारदर्शी रुपमा अगाडि बढाएका थिए ।

नेपालको व्यवसायमा इथिकलाई आत्मसाथ गरेर चौतर्फी व्यवसाय फैलाएका प्रभाकरशमशेर राणा अब हामी माझ रहेनन् । एक वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित राणाको अमेरिकामा उपचारका क्रममा निधन भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका व्यावसायिक साझेदार रहेका राणा व्यवसाय गरेर मुनाफा मात्र कमाउने होइन, त्यहीअनुसार राज्यलाई कर पनि तिर्नुपर्छ भनेर उनले आफ्ना सबै व्यवसायलाई पारदर्शी रुपमा अगाडि बढाएका थिए ।

राणाले लगानी गरेका र साझेदारमा रहेका सबै व्यवसायमा असल व्यावसायिक अभ्यास रहेको पाइन्छ । प्रभाकरशमशेर राणाका छोरा सिद्धार्थ राणा नेपालमा व्यक्तिगत सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा पर्छन् । राणाकै साझेदारमा रहेको कम्पनी सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीमा पर्छ । त्यस्तै व्यापार तथा व्यवसायतर्फ धेरै आय कर तिर्ने कम्पनीका रुपमा राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सम्मानित हुँदै आएको छ । नेपालमा होटल, अटोमोबाइल, चिया बगान, जलविद्युत, ट्राभलदेखि विभिन्न ट्रेडिङ व्यवसायमार्फत अगाडि बढेको राणाको व्यावसायिक समूहले पछिल्लो पटक होटल क्षेत्रमा लगानीलाई बढाइरहेको थियो ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल सोल्टीलाई राणाले सन् १९६७ मा स्थापना गरेका थिए । राणा सोल्टी होटलका संस्थापक अध्यक्षसमेत हुन् । पूर्वराजा ज्ञानेन्द्रलगायतसँग मिलेर खोलेको होटललाई पब्लिक कम्पनी बनाएर सर्वसाधरणलाई साझेदार बनाउन राणाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् १९८२ मा सिप्रदी ट्रेडिङ प्रालि स्थापना गरेर नेपालमा टाटा मोटर्सका आधिकारिक बिक्रेताक रुपमा रहेका राणाले नेपालको अटोमोबाइल क्षेत्रमा पनि योगदान गरेका छन् ।

सन् १९८६ मा भारत, नेपाल र यूकेको संयुक्त साझेदार रहेको सूर्य नेपाल प्रालिमा राणाले लगानी गरेका छन् । सूर्य नेपालले नेपालमा विभिन्न ब्रान्डमा चुरोट उत्पादन गर्दै आएको छ । सन् १९९६ मा भोटेकोसी पावर कम्पनीमार्फत ४५ मेगावाटको भोटेकोसी जलविद्युत् परियोजनामा पनि लगानी रहेको छ ।

राणाको हिमालयन चिया बगान, अमरावती ट्राभल, एस आर होल्डिङ, तारा म्यानेजमेन्टलगायत दर्जनौं व्यवसाय छन् । पछिल्लो पटक राणाले व्यवसायी रविभक्त श्रेष्ठसँग मिलेर नेपालगन्जमा सोल्टी वेस्टेन्ड होटल सञ्चालनमा ल्याएका थिए । यही समूहले पोखरामा पनि होटल सञ्चालनको तयारी गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित एक रिहाब सेन्टरमा उपचार गराइरहेका ८४ वर्षीय राणाको बिहीबार बेलुका निधन भएको हो । राणाको निधन हुने समयमा छोरा सिद्धार्थ राणा, बुहारी निलिमा र छोरी माया साथमै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालमा व्यवसायमा असल नियत राख्ने राणाको निधनले ठूलो क्षति पुगेको राणाका व्यावसायिक साझेदार रविभक्त श्रेष्ठले बताए । ‘उहाँको सबै व्यवसाय असल अभ्यासमा सञ्चालन छन्, धेरै व्यवसायीले उहाँबाट सिक्नु आवश्यक छ,’ उनले भने ।

राणा समूहअन्तर्गतका सबै व्यवसाय म्यानेजमेन्ट सिस्टमबाट सञ्चालनमा छन् । कुनै पनि व्यवसायमा पारिवारिक हस्तक्षेप नभएको सिप्रदी ट्रेडिङका उच्च अधिकारी बताउँछन् । कर्मचारीलाई विश्वास गरेकै कारण व्यवसायको साम्राज्य फैलिएको उनले बताए ।