राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले उक्त प्रणालीका् औपचारिक शुभारम्भ गरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माणको कामलाई पारदर्शी र प्रभावकारी बनाउन ‘परियोजना अनुगमन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ । भूकम्पपछिको पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण गतिविधि, बजेटको अवस्थालगायत विषयलाई एकद्वार प्रणालीमार्फत जानकारी दिन र भूकम्पप्रभावित जिल्लामा भइरहेका कामको केन्द्रीयस्तरबाटै अनुगमन गर्ने उद्देश्यले यस्तो प्रणाली सञ्चालनमा ल्याइएको हो ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले उक्त प्रणालीका् औपचारिक शुभारम्भ गरेका हुन् । उक्त अवसरमा भुसालले यस प्रणालीको विकासले भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित कार्यलाई अझै बढी पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने दाबी गरे ।
विश्वका विकसित मुलुकले परियोजना अनुगमनका लागि प्रयोग गर्दै आएको यो सूचना प्रणालीमार्फत नेपालमा भइरहेको पुनर्निर्माणको कामलाई विश्वको कुनै पनि कुनाबाट हेर्न सकिने उनको भनाइ छ । देशका विभिन्न भागमा भएका पुनर्निर्माणको कामलाई निगरानीमा राख्न पनि यो प्रणाली उपयोगी सिद्ध हुने उनले बताए ।
परियोजना अनुगमन सूचना प्रणाली सञ्चालनमा आएसँगै प्राधिकरणलाई भूकम्पप्रभावित जिल्लामा भइरहेको कामको अनुगमन गर्न अझै सहज हुने प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताए ।
एसियाली विकास बैङ्क (एडीबी)को आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस सूचना प्रणालीमा भूकम्पप्रभावित क्षेत्रमा खटिएका प्राविधिकहरुले पुनर्निर्माण भइरहेका परियोजनाका कामको प्रगति विवरण अपलोड गर्न सक्नेछन् ।