निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक

नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताए ।

तनहुँ । तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उनले भने, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको छ ।’’

नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताए । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ ।

उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् ।

कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले बताए । शुरु आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ अहिले नगरपालिकामा यस अभियान थालिए पनि आगामी दिनमा नगरपालिका मातहतका सबै कार्यालयमा लैजाने लक्ष्य रहेको उनले बताए । रासस