कालिगण्डकी जलाशययुक्त जलविद्युतको अध्ययन गर्न बोलपत्र आह्वान

विभागले ८४४ मेघावाट क्षमताको कालिगण्डकी जलाशययुक्त आयोजनासहित अन्य ९ वटा आयोजनाको एकैपटक अध्ययनको प्रक्रिया थालेको हो ।

पर्वत । कालिगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको सम्भाव्यताको अध्ययन गर्न विद्युत् विकास विभागले बोलपत्र आह्वान गरेको छ । पर्वत, बागलुङ र गुल्मी जिल्लामा पर्ने कालीगण्डकी नदीमा परियोजनाको काम अगाडि बढ्न थालेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त परियोजनाको विस्तृत अध्ययन गर्न बजेट विनियोजन गरेको थियो ।

कालिगण्डकी नदीलाई थुनेर ८४४ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने, नदी थुनेर बनेको तालमा स्टिमर सञ्चालन गर्ने, पानी पम्पिङ गरेर सिँचाईको व्यवस्था गर्नेलगायतका बहुउद्देश्यीय लक्ष्यका साथ पर्वत, बागलुङ र गुल्मीका स्थानीय तहले सरकारलाई यो परियोजना प्रस्ताव गरेका थिए ।

विद्युत् विकास विभागका सिनियर डिभिजनल इन्जिनियर जियोलोजिस्ट सुवर्ण खनालले कालिगण्डकी जलाशययुक्त परियोजनाको विस्तृत अध्ययनका लागि अन्तराष्ट्रिय बोलपत्र आव्हान गरिएको जानकारी दिए ।

अध्ययनको काम पूरा गर्न २ देखि ३ वर्षसम्म लाग्न सक्ने खनालले बताए । जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम गरिने खनालको भनाई छ । विभागले ८४४ मेघावाट क्षमताको कालिगण्डकी जलाशययुक्त आयोजनासहित अन्य ९ ओटा आयोजनाको एकैपटक अध्ययनको प्रक्रिया थालेको हो ।