आगामी वर्षदेखि भारतबाट बिजुली आयात बन्द हुन्छ : अर्थमन्त्री

बिजुली आयात बन्द भएपछि यसले व्यापार घाटा कम हुने खतिवडाले स्पष्ट पारे । लोडसेडिङ हटाउन भारतबाट २० अर्ब रुपैयाँको बिजुली आयात भइरहेको छ ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि भारतबाट बिजुली आयात नहुने बताएका छन् । उनले ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत सार्वजनिक र निजी लगानीमा निर्माणधीन आयोजना निर्माण सम्पन्न भई भारतबाट हुने बिजुली आयात बन्द हुने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी वर्षदेखि बिजुली आयात बन्द हुने र अर्को वर्षदेखि निकासी गर्ने स्पष्ट पारेका छन् । बिजुली आयात बन्द भएपछि यसले व्यापार घाटा कम हुने खतिवडाले स्पष्ट पारे । लोडसेडिङ हटाउन भारतबाट २० अर्ब रुपैयाँको बिजुली आयात भइरहेको छ । यस्तै भारतबाट ६०० मेगावाटसम्म बिजुली आयात भएको छ । सरकारले आगामी वर्ष प्रणालीमा १ हजार मेगावाट बिजुली थप गर्ने योजना सार्वजनिक गरेको छ ।

उनले सेवा व्यापार बढाएर त्यसको निर्यात गरेर व्यापार घाटा कम गर्ने योजना रहेको उनले बताए । विदेशबाट ठूलो परिमाणमा आयात हुँदै आएको निर्माण सामग्री बन्द भइसकेको उनले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि बिजुली आयात गर्नु नपर्ने भएको छ ।