१७५० अर्ब बजेट खर्च गरेर साढे ८ प्रतिशत आर्थिक वृद्धि

सङ्घीय संसदको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पुँजीगत खर्च गर्न नसकेको इतिहास भएको बताए । उनले आगामी वर्ष पनि लक्ष्यअनुसार पुँजीगत खर्च हुन नसक्ने स्पष्ट पार्दै ९० प्रतिशत खर्च भयो भने ठूलो उपलब्धि मान्नु पर्ने जिकिर गरे ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घ, प्रदेश र स्थानीय तहबाट १७ खर्ब ५० अर्ब रुपैयाँ बजेट खर्च गरेर ८.५ प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन् । उनले लक्षित बजेट खर्च भएमा साढे ८ प्रतिशत आर्थिक वृद्धि सहज रुपमा हासिल गर्न सरकारलाई कुनै समस्या नहुने स्पष्ट पारेका छन् । वित्तीय सङ्घीयता कार्यान्वयन आर्थिक वृद्धिको आधार भएको उनले स्पष्ट पारे ।

सङ्घीय संसदको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पुँजीगत खर्च गर्न नसकेको इतिहास भएको बताए । उनले आगामी वर्ष पनि लक्ष्यअनुसार पुँजीगत खर्च हुन नसक्ने स्पष्ट पार्दै ९० प्रतिशत खर्च भयो भने ठूलो उपलब्धि मान्नु पर्ने जिकिर गरे । केही वर्षमा ७५ प्रतिशतसम्म पुँजीगत खर्च भएको उनले सुनाए ।

शतप्रतिशत र अनुमानअनुसार पुँजीगत खर्च नहुने उनले ठोकुवा गरे । ‘स्थानीय अवरोध, निर्माण सामग्री आपूर्तिमा समस्या, व्यवसायायीले समयमा काम नगर्ने, दाताको सर्त र हामी आफ्नै कारणले पुँजीगत खर्च हुन नसकेको हो,’ उनले भने, ‘९० प्रतिशत पुँजीगत खर्च गर्न सके लक्ष्यमा पुगिन्छ, हामी यसमा पुग्ने छौं । असारे विकासको विश्लेषण गर्नुपर्छ ।’

आर्थिक वृद्धिका साथै रोजगारी बढ्ने उनले बताए । आगामी वर्ष थप ४ लाख र प्रधानमन्त्री कार्यक्रमबाट थप १ लाख गरी ५ लाखलाई रोजगारी दिने उनको भनाइ छ ।

मूल्यवृद्धि अनुमानभन्दा कम हुने अर्थमन्त्री खतिवडाले स्पष्ट पारे । ‘आगामी वर्ष ६ प्रतिशत राखेका छौं । बजार व्यवस्थापन राम्रो गर्दा मूल्यवृद्धि कम राख्न सक्छौं,’ उनले भने ।

अर्थमन्त्री खतिवडाका अनुसार निर्यात वृद्धिदर उत्साहप्रद छ । जीडीपीको ६८ प्रतिशत पुगेकोमा अहिले ३० प्रतिशतमा झरेको छ । अर्को वर्ष ३१ प्रतिशत रहने अनुमान छ । दक्षिण एसियामा सहज ऋणको अवस्था नेपाल मात्र भएको उनले बताए ।