कञ्चनपुर र कैलालीमा बिहीबार साँझ करिब १ घण्टासम्म चलेको हावाहुरीका कारण मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका स्थित मझगाउँ बस्ने वर्ष २६ का बीरबहादुर चौधरी र कैलाली कै टिकापुरका लहानु डंगौरा रहेको कैलाली प्रहरीले जनाएको छ ।
कञ्चनपुर । पश्चिम नेपालको तराईमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । कञ्चनपुर र कैलालीमा बिहीबार साँझ करिब १ घण्टासम्म चलेको हावाहुरीका कारण मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका स्थित मझगाउँ बस्ने वर्ष २६ का बीरबहादुर चौधरी र कैलाली कै टिकापुरका लहानु डंगौरा रहेको कैलाली प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण मोटरसाइकल र टिप्पर एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गोदावरीका बीरबहादुर चौधरीको मृत्यु भएको हो भने पर्खालले च्यापिएर टिकापुरका लहानु डंगौराको मृत्यु भएको प्रहरीको भनाई छ ।
घाइतेहरूको महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, सेती अञ्चल अस्पताल धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीलगायत केही निजी अस्पतालका साथै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानसम्म अधिकांश घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् । सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी र स्थानीय समाजसेवीसहितका विभिन्न संघसंस्थाहरु क्षतिको विवरण संकलन र पीडितको उद्दारका लागि खटीरहेका छन् ।
धनगढीका विभिन्न अस्पतालमा उपचार गराइरहनु भएका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहितको टोली मध्यरात मै अस्पताल पुगेका थिए ।
कञ्चनपुर र कैलालीका विभिन्न क्षेत्रमा हावाहुरीका कारण सयौँको संख्यामा घर–टहराहरु भत्किएका छन् भने ठाउँठाउँमा विद्युत् पोलहरु भाँचिएका र तारहरु टुटेका कारण विद्युत् सेवा पूर्ण रुपमा अबरुद्ध भएको छ ।
विद्युत् लाइन आउन कम्तीमा पनि ५ दिन लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, बाटो वरपरका रूखहरू ढल्दा बाटोघाटोसमेत ठाउँठाउँमा अबरुद्ध भएका छन् । कृषकहरुले लगाएका केरा, तरकारीलगायत बालीनालीमासमेत क्षति पुगेको कृषकहरुले बताएका छन् ।
केही विद्यालय तथा कार्यालयहरुका छानासमेत हावाहुरीले उडाएको छ । उता कैलालीको सुख्खडमा रहेको रेडियो कैलालीको टावर भाँचिई रेडियो प्रशारण अबरुद्ध भएको रेडियो कैलालीका प्रबन्ध निर्देशक नवराज खनालले बताए ।