उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला आयोजनामा कर्मचारीहरुद्वारा तालाबन्दी

आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेपनि तालाबन्दीका कारण बिद्युतगृह, हेडर्वक्स र सुरुङ्ग निर्माणको बाँकी रहेको काम अघिबढ्न सकेको छैन ।

पर्वत । पर्वतमा परीक्षण उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला जलबिद्युत् आयोजनामा कर्मचारी र कार्यरत कामदारले तालाबन्दी गरेका छन् । आयोजनाको काम सकिएपछि कार्यरत कर्मचारीहरुले आफूलाई स्वतः स्थायी गर्नुपर्ने माग राख्दै चार दिनदेखी आयोजनामा तालाबन्दी गरेका हुन् ।

आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेपनि तालाबन्दीका कारण बिद्युतगृह, हेडर्वक्स र सुरुङ्ग निर्माणको बाँकी रहेको काम अघिबढ्न सकेको छैन ।

आयोजनामा कार्यरत ४० जना कर्मचारीहरुले जेठ २० देखि काम बन्द गराएपछि निर्माण कार्य प्रभावित भएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । कुनैपनि कर्मचारीलाई स्थायी नगरिएको र बिद्युत् उत्पादन थालिएपछि प्रकृया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी यादवले बताए ।

यादबका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेकाबेला केही दक्ष कर्मचारीहरुलाई सहयोगीको रुपमा राखेर काम गराईएको तर स्थायी गरिएको छैन । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाई भएको आयोजना प्रमुख यादबले बताए ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सरेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाई भएको आयोजनाले जनाएको थियो ।

लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोप लगायतका कारणले ढिलाई भएको आयोजनाले बताउँदै आएको छ ।