पाँचथरको दुर्गम भेग तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

फिदिम । घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ ।

पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाउँपालिकामा शनिबारबाट बिजुली बलेपछि स्थानीयवासीमा खुशीको सीमा छैन । तुम्बेवा–४ का रोशन लावतीले भने, ‘यत्ति चाँडै बिजुली आउँछ भन्ने मैले सोचेको पनि थिइँन । साँच्चै प्रयत्न गर्दा विकासले फड्को मार्नेरहेछ भन्ने मलाई अनुभूति भएको छ ।’ गत वर्ष मात्रै निर्माण थालिएको विद्युतीकरणको कार्य पूरा भई तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारमा बिजुली बलेपछि स्थानीयवासीमा खुसी छाएको हो ।

तुम्बेवा यही ठाउँ हो, जहाँ खडेरीले गत वर्ष कुनै अन्नबाली फलेन । प्रदेश सरकारले तुम्बेवा गाउँपालिकासँग साझेदारी गरेर यहाँको वडा नं १, २ र ३ का कृषकलाई प्रतिपरिवार रु सात हजार ५०० राहत उपलब्ध गरायो । यस वर्ष पनि पानी नपर्दा मकैका बिरुवा सुक्न थालिसकेका छन् । यहाँ खानेपानीको हाहाकार अझै विद्यमान छ ।

प्रदेश सरकारकै लगानीमा खरीद गरिएको ट्याङ्करले खानेपानी वितरण गर्दै आए पनि त्यो पर्याप्त छैन । खानेपानी अभाव, उत्पादन शून्यता र खडेरीले पीडित स्थानीय बसाइँ सर्ने क्रम तीब्र छ । यही तुम्बेवामा तमोर पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्न तथा स्थानीयवासीलाई अँध्यारोबाट मुक्त गर्न राष्ट्रिय प्रसारणलाइनको विद्युत् जडान गरिएको हो ।

दुर्गम यस स्थानमा शनिबारबाट सञ्चालनमा आएको विद्युत्को प्रदेश नं १ आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका हुन् । शनिबार तुम्बेवा–३ स्थित इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा आयोजित समारोहमा आङ्बोले स्वीच खोलेर बत्ती उद्घाटन गरे । कार्यक्रमको स्टेजअघि चार बल्बमा बत्ती बलेपछि उपस्थित सयौँ स्थानीयवासीले तालीद्वारा स्वागत गर्दै खुशीयाली मनाए ।

यहाँका सबै वडामा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण इलाम तथा जोरसल्ले ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेका छन् । वडा नं १, २ र ३ मा सहकारी संस्थाको माध्यमबाट तथा वडा नं ४ र ५ मा प्राधिकरणमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए ।

नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्र पाँचथरका प्राविधिक प्रमुख सनोज यादवका अनुसार काबेली कोरिडोरको फिदिम–४ स्थित सवस्टेशनबाट यासोक हुँदै तुम्बेवामा ११ केभी विद्युत् विस्तार गरिएको हो ।

तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारसहित तुम्बेवाका वडा नं ४ र ५ मा विद्युत् विस्तारको कार्य भइरहेको उनले जानकारी दिए । पाथीभरा कन्स्ट्रक्सन प्रालिले विद्युतीकरणको ठेक्का लिएर कार्य गरिरहेको छ । दुर्गम यस क्षेत्रमा शनिबार मात्रै ५० बढी घरमा बिजुली बलेको छ । यही साता २०० घरमा बिजुली बल्ने यादवले जानकारी दिनुभयो । रु दुई करोड ५० लाखमा बोलपत्रमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको उनले बताए ।

बिजुली बलेपछि स्थानीयवासीमा आधारभूत सेवा प्राप्त हुने विश्वास बढेको छ । खानेपानीको चरम अभाव रहेको यस क्षेत्रमा खानेपानी पु¥याउन रु ४५ करोडको लागतमा तमोर लिफ्टिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

यो आयोजना सञ्चालनका लागि पनि विद्युत् अनिवार्य थियो । निर्माणकार्य करीब ४० प्रतिशत पूरा भएको यो आयोजना विद्युत् विस्तारसँगै द्रुतगतिमा निर्माण हुने विश्वास लिइएको तुम्बेवा गाँउपालिका–३ का वडाध्यक्ष कमल थापाको भनाइ छ । रासस