जगदगुरु रामानन्दाचार्य महायोगी अस्ट्रेलिया जाँदै

नेप्लीज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचओटा कार्यक्रमको प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले जनाएका छन् ।

नेपालका जगदगुरु रामानन्दाचार्य महायोगी सिद्दबाबा महायोग ध्यान साधना सञ्चालन गर्न अस्ट्रेलिया जाने भएका छन् । पटकपटक जमिनमुनी ९ दिनसम्म विनाअक्सिजन भू–समाधि लिएर विश्वलाई नै आश्चार्यचकित बनाएका जगदगुरु महायोगी सिद्दबाबा नेप्लिज हिन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा त्यहाँ जान लागेका हुन् ।

नेप्लिज हिन्दु समाजले अस्ट्रेलियाको सिड्नीमा एकसाथ गर्न लागेको पाँचओटा कार्यक्रमको प्रमुख आकर्षण जगदगुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले जनाएका छन् ।

नेप्लिज हिन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना, श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतबन्ध र कन्याहरुलाई सामुहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम गर्न लागेको पण्डित ढोडारीले बताए ।

सिद्दमहायोग ध्यान साधना जगदगुरु स्वयं र उनीसँग जाने सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानको समुहले सञ्चालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ वाचनको लागि नेपालका पुराण वाचक पण्डित कुबेर सुबेदी जाँदैछन् । जस्ले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण वाचन गरिसकेका छन् ।

पण्डित ढोडारीका अनुसार जुलाइ १३ मा कन्याहरुलाई सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुनेछ ।

उनकाअनुसार कन्याहरुलाई सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एवं पितृमोक्ष यज्ञ अस्ट्रेलियामै पहिलो पटक हुन लागेको हो । जुलाई १४ मा श्रीमदभागवत ज्ञानमहायज्ञको साङ्गेका साथै बटुकहरुको सामुहिक ब्रतबन्धको कार्यक्रम पनि आयेजना हुनेछ । कार्यक्रमको समापन जगदगुरुबाट हुने जनाइएको छ ।

आयोजकले अस्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरुलाई बिरलै हुने सो कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । कन्याहरुलाई सामुहिक गुन्युचोली प्रदान र बटुकहरुको सामुहिक ब्रतबन्ध कार्यक्रममा सिट सिमित भएकोले समयमै आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक संस्थाकी अध्यक्ष प्रन्चना शर्माले जनाइन् ।

त्यसैगरी नेप्लिज हिन्दु समाजकै समन्वय र अस्ट्रेलियाको एडिलेडमा रहेका नेपालीहरुको आयोजनामा एडिलेडमा पनि जुलाई २ देखि जुलाई ७ सम्म सिद्दमहायोग ध्यान साधना कार्यक्रम हुने र त्यसका लागि जगदगुरु जुलाई १ मा एडिलेड पुग्ने सो कार्यक्रमको नेपालमा संयोजन गरीरहेका सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानका महासचिव अधिबक्ता सरोज गिरीले जानकारी दिए ।

गिरीका अनुसार एडिलेडमा हुने कार्यक्रमको स्थानीय संयोजन हरीप्रसाद ढुङ्गेलले गर्दैछन् । एडिलेड र सिड्नीमा हुने सम्पूर्ण कार्यक्रमको ॐकार टेलिभिजन नेपालले प्रत्यक्ष प्रसारणसमेत गर्ने जनाइएको छ । नेपालभन्दा बाहिर हिन्दु संस्कार र संस्कृतिको संरक्षणका लागि गरीने अन्य कार्यक्रमभन्दा यो बिशेष र ऐतिहासिक महत्वको लागेकोले स्वयं आफैँ उपस्थित भएर प्रत्यक्ष प्रसारण गर्न लागेको ॐकार टेलिभिजन नेपालका अध्यक्ष तथा धार्मिक अभियन्ता मुकुन्द शर्मा ॐकार ध्वनीले बताए ।

यसअघि नेपाल, भारत, थाइल्यान्ड, क्यानडा, बेलायत, अमेरिका, दुबइ, चीन आदि देशहरुमा सिद्दमहायोग ध्यान साधना सम्पन्न भइसकेको र हाल ति देशहरुमा महायोग साधना केन्द्रसमेत सञ्चालनमा रहेको र यो वर्ष अष्ट्रलियामा महायोग साधना केन्द्र खोल्न लागेकोले सो केन्द्रको उद्घाटनसमेत जगदगुरु महयोगी सिद्दबाबा कृष्णदासजी महाराजबाट हुने कार्यक्रमका नेपाल संयोजक अधिबक्ता गिरीले जानकारी दिएका छन् ।