घाइते महिलाको हवाई जहाजबाट उद्धार

उक्त नगरपालिकाको कुरु माइती घर भई हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो ।

मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाई जहाजबाट उद्धार गरिएको छ ।

उक्त नगरपालिकाको कुरु माइती घर भई हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो ।

माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भीरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहलपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले जानकारी दिए ।

सुदूरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्रालयको र बूढीनन्दा नगररपालिकाको ५०/५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महिला रोकायाको थप उपचारका लागि पहल गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका स्वकीय सचिव जङ्गबहादुर विकले बताए ।

उनले मन्त्री शाहको पहलमा घाइते भएकी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बताए । हालसम्म जिल्लामा चार जनाको हवाई उद्धार कार्यक्रमबाट उद्धार गरिसकेको बताइएको छ । रासस