भारतीय भूपु सैनिकका लागि म्याग्दीमा सैनिक बोर्ड स्थापना, पेन्सन जिल्लाबाटै पाउने

म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गरेका हुन् ।

म्याग्दी । म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गरेका हुन् ।

भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपू सैनिकलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअनुसार तथा म्याग्दीवासीको माग र आवश्यकतालाई ध्यानमा राखी म्याग्दीमा जिल्ला सैनिक बोर्ड स्थापना गरिएको बताए ।

साथै उनले बोर्ड स्थापनासँगै भारतीय सेनाबाट अवकाशप्राप्त भूपु सैनिकले पाउने सेवासुविधा जिल्लामै पाउने जानकारी दिए । भारत र नेपाल सरकारको सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक, धार्मिक तथा राजनीतिकरूपमा प्रगाढ रहको उनको भनाइ थियो ।

नेपाली भुपू सैनिकको हरेक समस्या समाधानका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सैनिक बोर्ड स्थापनाले भूपुसैनिकलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भुपू सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मीनबहादुर कार्कीले म्याग्दीका भुपूसैनिकको १६ वर्षसम्मको सङ्घर्षपछि जिल्ला सैनिक बोर्ड स्थापना हुन सफल भएको बताए । म्याग्दीमा पाँच हजार बढी भारतीय भूपुसैनिक रहेका उनले बताए ।