सन् २०१७ मा एडीबीका सबैभन्दा बढी कार्यक्रम कार्यान्वयन

यस अवधिसम्म नेपालमा एडीबीको सहायता तथा ऋण लगानी करिब २ खर्व ५५ अर्ब रुपैयाँ अर्थात् २ अर्व ४३ करोड ८० लाख डलर रहेको छ । यसमध्ये आयोजना सम्झौता हुन ९२ करोड ५० लाख डलर छ भने खर्च गर्न १ अर्ब ५२ करोड ३० लाख डलर छ ।

 

एसियाली विकास बैङ्क (एडीबी)ले नेपालमा गरेको लगानी सन् २०१७ मा सबैभन्दा बढी कार्यान्वयनमा आएको छ । यो वर्षको (५५ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ५३ करोड ३० लाख अमेरिकी डलरको आयोजना सम्झौता गर्ने लक्ष्य रहेकोमा ४५ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ४३ करोड ६० लाख डलरको सम्झौता भएको छ । यो सम्झौता लक्ष्यको ८२ प्रतिशत हो ।

वर्ष २०१७ मा ३५ अर्ब ५९ करोड रुपैयाँ अर्थात् ३३ करोड ९० लाख डलर खर्च गर्ने लक्ष्य लिइएकोमा ३१ अर्ब २९ करोड अर्थात् २९ करोड ८० लाख डलर खर्च भएको छ । यो खर्च एडीबीको लक्ष्यको ८८ प्रतिशत हो । एडीबीका अनुसार यातायात क्षेत्रमा सम्झौताको लक्ष्य भेट्न सकेको छैन । यातायातमा १७ करोड डलरको आयोजना सम्झौता गर्ने लक्ष्य भए पनि ५ करोड डलरको मात्रै सम्झौता भएको छ । त्यस्तैसैगरी ऊर्जाक्षेत्रमा १६ करोड २० लाख डलरको आयोजना सम्झौता गर्ने लक्ष्य रहेकोमा १२ करोड २० लाख डलरको सम्झौता भएको छ । खर्र्च पनि यातायात र ऊर्जातर्फ नै सबैभन्दा कम भएको छ । सबैभन्दा बढी आयोजना भएको क्षेत्र पनि ऊर्जा हो । ऊर्जाक्षेत्रमा रहेका ५४ आयोजना छन् ।

एडीबीले शुक्रबार ‘कन्ट्री पोर्टफोलियो पर्फमेन्स रिभ्यू’ गर्दै यस वर्ष सबैभन्दा बढी सफलता हात लागेको उल्लेख गरेको हो । सन् २०१६ मा ३५ करोड ८८ लाख डलरका आयोजना मात्रै सम्झौता भएका थिए । २०१७ मा ६२ प्रतिशतको आयोजना सम्झौता भइसकेको छ भने ३८ प्रतिशतको सम्झौता हुन बाँकी छ । त्यसैगरी खर्चतर्फ पनि ३८ प्रतिशत खर्च भएको छ भने ६२ प्रतिशत खर्च हुन बाँकी छ ।

कार्यक्रममा एडीबीका नेपाल निर्देशक मुख्तर खामुदानोभले नेपालमा काम गर्न चुनौतीपूर्ण रहे पनि सरकारसँग सहजीकरण गर्दै परियोजना अघि बढाइरहेको बताए । प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजनालाई सन् २०१८ भित्र काठमाडौंमा ल्याउने उनको भनाइ छ । त्यसैगरी गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ट्र्याकमा ल्याउनु पनि आफ्नो पहिलो कर्तव्य भएको निर्देशक खामुदोनोभले बताए ।

यस अवधिसम्म नेपालमा एडीबीको सहायता तथा ऋण लगानी करिब २ खर्व ५५ अर्ब रुपैयाँ अर्थात् २ अर्व ४३ करोड ८० लाख डलर रहेको छ । यसमध्ये आयोजना सम्झौता हुन ९२ करोड ५० लाख डलर छ भने खर्च गर्न १ अर्ब ५२ करोड ३० लाख डलर छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार एडिबीको सबैभन्दा बढी सहायता सहरी र खानेपानी क्षेत्रमा छ । यो क्षेत्रमा एडीबीको ऋण तथा सहायता कुल बजेटको ३१ प्रतिशत अर्थात् ७५ करोड १० लाख डलर रहेको छ । त्यस्तै दोस्रोमा ऊर्जाक्षेत्रमा २५ प्रतिशत अर्थात ६० करोड १० लाख, यातायातमा १९ प्रतिशत ४५ करोड ३० लाख डलर, पुनर्निर्माणमा ८ प्रतिशत अर्थात् २० करोड ३० लाख, कृषिमा ९ प्रतिशत अर्थात् २३ करोड डलर, शिक्षामा ६ प्रतिशत अर्थात् १४ करोड १० लाख र अन्य क्षेत्रमा २ प्रतिशत ५ करोड डलर सहायता तथा ऋण सहयोग छ । एडीबीले त्यस अवसरमा उत्कृष्ट कार्य गर्ने आयोजना प्रमुख र समूहलाई पुरस्कृतसमेत गरेको थियो ।